बतास समूहले चलाइरहेको पशुपति धर्मशाला छिट्टै सरकारको स्वामित्वमा आउँछ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन् ।

मंगलबार महाशिवरात्रि पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समूहलाई हटाउने सरकारको निर्णयमा सो समूहले लिएर आएको अल्पकालीन आदेशसमेत अदालतले खारेज गरिसकेकाले छिटोभन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताएका हुन् ।

विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै उनले अब त्यस्तो कदम सह्य नहुने बताए । मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरूको कहिल्यै कल्याण नहुने बताए ।

‘भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु पैसा दिएर धर्मशाला निर्माण गर्न दिएको त्यो भवन आज कौडीको भाउमा विगतको प्रतिनिधिले त्यसलाई बेच्ने कामहरु गरेका छन् । त्यो कतै पनि सह्य हुनेवाला छैन । र हिजो मात्रै हामीले अल्पकालीन आदेश लिएर आउनुभएको थियो बतास अर्गनाइजेशनले त्यो अल्पकालीन आदेश पनि खारेज भइसकेको अवस्था छ' उनले भने

पशुपति क्षेत्र विकास कोषको अध्यक्ष समेत रहेका मन्त्री आलेले यस वर्षको महाशिवरात्रि पर्व विगतका वर्षभन्दा भव्य र सभ्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिए ।

महाशिवरात्रि पर्वलाई भव्य र सभ्य बनाउन कुनै पनि कसर बाँकी नराख्न उनले निर्देशनसमेत दिए । धर्मावलम्बीलाई सहज रूपमा पानीको व्यवस्था, बत्तीको व्यवस्था मिलाउनेदेखि सरसफाइमा विशेष ध्यान दिन मन्त्री आलेले निर्देशन दिए ।



‘कुनै पनि ठाउँमा ढुंगा, फोहोर, माटो अथवा धर्मावलम्बीहरू आउँदाखेरी पानीको व्यवस्था होस् । ट्वाइलेटको सरसफाई होस् । यि सबै कुरा पुरा होस् । जहाँ जहाँबाट भक्तजन पुजा आराधानाका लागि आउनुहुन्छ, उहाँहरुलाई हरेक ठाउँमा लाइटिङको व्यवस्था होस् । जस्तो दिउँसो हुन्छ उस्तो राति पशुपति झल्किने गरी त्यो काम पनि होस् भनेर मैले साथीहरुलाई भन्दै आएको छु,’ उनले भने ।

यस वर्षको महाशिवरात्रि पर्व फागुन १७ गते मंगलवारका दिन परेको छ । यस वर्ष सो दिन पशुपति क्षेत्रमा १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले बताए ।



पर्वलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा कोषका अध्यक्ष प्रेमबहादुर आलेको अध्यक्षतामा मुल समारोह समिति र विभिन्न १० वटा उपसमिति गठन भएको उनले जानकारी दिए ।

मेलामा आउने दर्शनार्थीको सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी परिचालन गरिने पनि उनले उल्लेख गरे । सो दिन दर्शनार्थीलाई सहजताका लागि डिजिटल बत्तीको व्यवस्था गरिने तथा मन्दिर क्षेत्रमा आउनुहुने साधु, सन्तको भोजन र आवासका लागि कोष सचेत रहेको उनको भनाई छ ।

सदस्य सचिव थापाले सो दिन पनि विद्युत शवदाह क्षेत्र र क्रियापुत्री क्षेत्र सञ्चालन हुने बताए । महाशिवरात्रि पर्वका दिन मदिरा तथा लागुपदार्थ मुक्त क्षेत्र बनाउनका लागि विशेष निगरानी र कडाइ गरिने पनि उहाँले बताए ।

  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १५:१५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया