एमसिसी सकस : शीर्ष नेताको दौडधुप, व्याख्यात्मक घोषणाको तयारी !

अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल भएसँगै राजनीतिक दलहरूका शीर्ष नेताहरुको दौडधुप पनि बढेको छ ।

विवाद र नाराबाजीकाबीच संघीय संसदको प्रतिनिधिसभामा प्रस्तुत भएको एमसिसीले अब बस्ने संसद बैठकमा कस्तो परिदृश्य देखाउँछ भन्ने हेर्न बाँकी छ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी १२ गतेका लागि बैठक आह्वान गरेका छन् ।

उक्त बैठकमा एमसिसीबारे कसरी छलफल अघि बढ्ला भन्ने चासो एकातर्फ भइरहँदा दलहरुबीच मतभिन्नता पनि उति नै सार्वजनिक भइरहेका छन् ।

एमसिसीका पक्ष र विपक्षमा संसदमा मतदान हुँदा देखिने दृश्यले नै सत्ता गठबन्धनको भविष्य निर्धारण गर्नेमा दुईमत छैन । गठबन्धन जोगाउन जोड दिँदै आएका माओवादी केन्द्र र नेकपा एसका नेताहरुलाई यतिबेला दबाबमा छन् ।

एमसिसी संसदमा टेबल भएपछि सबैभन्दा बढी प्रेसर थेगिरहेका छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

प्रचण्ड यतिबेला दबाबमा मात्र छैनन्, अप्ठेरो पनि झेलिरहेका छन् । उता, सत्तारुढ गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादीभित्र पनि एमसिसीकै विषयले तिव्र मतभेद देखिएको छ ।



‘व्याख्यात्मक घोषणाको तयारी’

आइतबार संसदमा एमसिसी टेबल भएपछि सोमबार र मंगलबार शीर्ष नेताहरुको दौडधुप बाक्लो देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा गठबन्धनमा एमसिसी टेबल गर्नका लागि सहमतिको बाटो फुकाउन नेताहरुलाई सक्रिय बनाएका छन ।



सोही रणनीतिअनुसार कांग्रेस नेता रामचन्द्र पौडेल र प्रचण्डबीच सोमबार सिंहदरबारमा भेट भएको थियो । भेटपछि अध्यक्ष प्रचण्डले एमसिसीको बारेमा निकास निकाल्ने र सत्ता गठबन्धन पनि नटुट्ने बताएका थिए ।

सत्ता गठबन्धनका नेताहरु आज पनि एमसिसी टेबल भएपछिका विषयमा लिएर छलफल गरिरहेका छन् । तर, देउवाले भने एमसिसीको ‘व्याख्यात्मक घोषणा’ गर्नेगरी अघि बढाउन सहमति भएको बुझिएको छ ।

तीव्र मतभेद एमसिसीकै वरिपरि रहिरहँदा यो प्रस्तावलाई माओवादी र नेकपा एसले कसरी लिन्छ भन्ने प्रश्न उब्जिएको छ । यी दुई दलले संशोधन मागेको बुँदामा उनीहरुलाई हुनुपर्ने लागेको कुरा व्याख्यात्मक घोषणामा राखिने गरी देउवाले छलफल अघि बढाएका हुन् ।

एमाले सांसद झपट रावलले एमसिसी पास गर्ने षडयन्त्रको रुपमा ‘व्याख्यात्मक घोषणा’ लाई लिएका छन । उनले भनेका छन्, ‘पास गर्ने राष्ट्रघातीहरुको नयाँ षडयन्त्रको नाम व्याख्यात्मक घोषणा ।’

मतदान ?

यदी सत्ता गठबन्धनभित्रै सहमति नभएको खण्डमा एमसिसीका पक्ष वा विपक्षमा मतदान हुन्छ । एमसिसीको विरुद्धमा उभिएको माओवादी र नेकपा एसले अहिलेसम्म एमसिसीको विरुद्धमा उभिनका लागि सांसदहरुलाई ह्वीप जारी गरेको छैन ।

तर, कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले भने एमसिसीको विपक्षमा मतदान गर्दासँगै बस्न नसकिने स्पष्ट पारेका छन । आज मात्रै चितवन पुगेर थापाले भनेका छन्– माओवादी केन्द्र र नेकपा एसले मतदान गर्दिन भन्नु अराजनीतिक हुन्छ ।

उनको यो भनाइको आशय हो, यदी संसदमा एमसिसीका पक्ष र विपक्षमा भोट हाल्नपर्ने अवस्था आएको खण्डमा यी दुई दलले पनि स्वतः भोट हाल्नुपर्छ । ‘एमसिसीको पक्षमा मतदान गर्ने भए सँगै बसौँ । विपक्षमा मतदान गर्ने भए सँगै बस्न सकिँदैन,’ गगनले भनेका छन ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल मध्यमार्गी बाटो खोज्ने प्रयासमा सक्रिय छन् । माधव नेपालकै निर्णयमा एमसिसी टेबलसम्म भएको हो । तर, उनी अहिले नै पारित गर्ने पक्षमा छैनन् ।

  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १७:४७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया