युवा संघमा एकलौटी गर्न लागेका महेश बस्नेतलाई पार्टीको अंकुश

नेकपा एमालेको भ्रातृ संगठन युवा संघमा एकलौटी गर्न खोजेका नेता महेशलाई बस्नेत पार्टीले अंकुश लगाएको छ । केन्द्रीय संगठन विभागले गरेका निर्णय कार्यान्वयन गर्न पार्टीले निर्देशन दिएसँगै नेता बस्नेतको चाहनामा अंकुश लागेको हो ।

पार्टी महासचिव शंकर पोखरेलले विभागको निर्णय कार्यान्वयन गर्नका लागि जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल युवा फाँटका इन्चार्जसमेत रहेका बस्नेतलाई बोधार्थ गर्दै पत्र काटेका हुन् ।

पत्रमा २८/२९ पुसमा पोखरामा आयोजित सचिवालय बैठक पूर्वमा ४१९ सदस्यीय सचिवालयलाई महाधिवेशन आयोजक कमिटीका रूपमा कायम गर्ने निर्णय कार्यान्वयन गर्न भनिएको छ ।

'केन्द्रीय कमिटीका बाँकी सदस्यहरूलाई केन्द्रीय निकाय र प्रदेशको कमिटीमा समावेश गर्ने, राष्ट्रिय अधिवेशन सम्पन्न नहुञ्‍जेलसम्म पदाधिकारी र सदस्यको पूर्ववत् जिम्मेवारीलाई यथावत राख्ने,' पत्रमा भनिएको छ ।

पत्रमा समायोजन र प्रवेश गरेकाहरूको हकमा संघको विधि र प्रक्रिया अनुरूप गर्न, स्थानीय निर्वाचन सम्पन्न भएपछि मात्र राष्ट्रिय युवा संघलगायतका कतिपय संगठनको अधिवेशन गर्न उपयुक्त हुने पार्टीको निर्णय भएको हुँदा सोही अनुरूप संघको संगठनात्मक गतिविधि अघि बढाउन भनिएको छ ।

पोखरामा बसेको केन्द्रीय सचिवालय बैठकले संघको ११ फागुनमा महाधिवेशन गर्नेका लागि ४०५ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको थियो । यो निर्णय बस्नेतले गरेको भन्दै केही नेता कार्यकर्ता असन्तुष्टि जनाएका थिए ।



उनले बनाएको महाधिवेशन आयोजक कमिटीप्रति असन्तुष्टि जनाउँदै केही नेता कार्यकर्ताले पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख खगराज अधिकारीलगायत नेतासँग भेट गरेका थिए ।



त्यसपछि संगठन विभागले  संघलाई निर्देशनात्मक पत्र लेखेको थियो । विभागले पुरानै कमिटीले महाधिवेशन गर्नु भनेर निर्देशन दिएपछि बस्नेत आक्रोशित बन्दै फेसबुकमार्फत संगठन विभाग प्रमुख अधिकारीलाई हटाउन माग गरेका थिए ।

बस्नेतले फेसबुक स्टाटसमा युवा संघमा अनावश्यक हस्तक्षेप गरेको भन्दै अधिकारीलाई संगठन विभागको जिम्मेवारीबाट मुक्त गर्न माग गरेका थिए । ९ वर्षअघि युवा संघको नेतृत्व गरेका बस्नेत अझै एक कार्यकाल युवासंघको अध्यक्ष हुने चाहनामा छन् ।

 

  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार २०:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया