सहिद स्मारक ए डिभिजन लिग अन्त्यतिर पुगेको छ । लिगमा अब मात्र एक चरणको खेल बाँकी छँदा लिग विजेता र रेलिगेसनमा पर्ने टोलीको टुङ्गो लागिसकेको छ ।
लिगको १२ चरणमा आएर दोस्रो डिजिनमा झर्ने दुई टोलीको टुङ्गो लागेको हो । लिगको १२ औं चरणका सातमध्ये ६ खेलमा जित हारको नतिजा निस्कँदा १ खेल बराबरीमा सकियो । सबै खेलमा गोल भएको यो चरणमा कुल १९ गोल भए ।
च्यासल र ब्रिगेड रेलिगेसनमा
लिगको ११ औं चरणमा आएर लिग विजेताको टुङ्गो लागेको थियो भने १२ औं चरणमा रेलिगेसनमा पर्ने टोलीको पनि छिनोफानो भएको छ । यो सिजन मछिन्द्र क्लबले लिग उपाधि उचाल्दा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब दोस्रो डिभिजनमा झरे ।
च्यासल १२ औं चरणअन्तर्गत शनिबार दशरथ रंगशालामा भएको खेल फ्रेन्ड्स क्लबसँग २-१ ले गुमाउँदै दोस्रो डिभिजनमा झर्दा ब्रिगेड सोमबार दशरथ रंगशालामै नवप्रवेशी क्लब सातादोबाटोसँग ३-२ ले पराजित भएको थियो ।
यी दुईको हारले रेलिगेसनको डरमा रहेका फ्रेन्ड्स, जावलाखेल र नेपाल पुलिस क्लबलाई भने राहत मिल्यो ।
च्यासल युथ क्लब
यो सिजनमा च्यासलले १२ खेल खेल्दा १ जित, तीन बराबरी र आठ हारको नतिजा निकालेको छ । ऊ शीर्ष डिभिजनमा उक्लिएको तेस्रो सिजनमै दोस्रो डिभिजनमा घटुवा भएको हो ।
विसं.२०३७ मा स्थापना भएको च्यासल युथ क्लब विसं.२०७२ मा ‘बी’ डिभिजन विजेताको हैसियतले शीर्ष डिभिजनमा बढुवा भएको थियो ।
२०७४ मा लिग नहुँदा विसं.२०७५ मा पहिलोपटक शीर्ष डिभिजन खेलेको च्यासल डेब्यु सिजनमा आठौं स्थानमा रह्यो । उसले २०७६ मा नवौं स्थानमा रहेर लिग अन्त्य गरेको थियो ।
ब्रिगेड ब्वाइज
यो सिजन ब्रिगेडले १२ खेल खेल्दा ४ जित, चार बराबरी र सात हारको नतिजा निकाल्यो । ऊ तेस्रोपटक बी डिभिजनमा झरेको हो ।
विसं.२०४४ मा स्थापित ब्रिगेड ब्वाइज क्लब पहिलोपटक २०६१ मा शीर्ष डिभिजनमा बढुवा भएको थियो । क्लब २०६३ सालमा दोस्रो डिभिजनमा घटुवा भयो ।
२०६८ सालमा पुनः शीर्ष डिभिजनमा फर्किएको ब्रिगेड त्यो सिजन १६ औं स्थानमा रहँदै दोस्रोपटक बी डिभिजनमा झर्याे ।
२०७० मा तेस्रोपटक शीर्ष डिभिजनमा उक्लिएको ब्रिगेडले लिग खेल्न भने पाँच वर्ष कुर्नुपर्याे। विभिन्न कारणले २०७० देखि २०७५ सम्म लिग हुन सकेन ।
२०७५ मा तेस्रोपटक लिग खेलेको ब्रिगेड १२ औं स्थानमा रह्यो । २०७६ लिगमा भने ब्रिगेड भाग्यशाली रह्यो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुच्छरको टोली मात्र रेलिगेसन पर्ने गरी लिग खेलाएपछि ऊ १३ औं स्थानमा भए पनि बी डिभिजनमा झर्नु परेन । त्याे सिजनमा अन्तिम स्थानको सरस्वती युवा क्लब दोस्रो डिभिजनमा झरेको थियो ।
मनाङमाथि न्युरोड टिम (एनआरटी) को जित
लिगको १२ औं चरण अन्तर्गत आइतबार दशरथ रंगशालामा भएको खेलमा न्युरोड टिम (एनआटी)ले मनाङ मर्स्याङ्दी क्लबमाथि १-० को जित हात पार्याे ।
मनाङलाई हराउन एनआरटीका मेसुके ओलुमोउले निर्णायक गोल गरे । उनले खेलको २६ औं मिनेटमा एरिरक विष्टको फ्रिकिकलाई पोस्टको दिशा दिएका थिए।
एनआरटीको यो जित किन विशेष छ भने उसले विसं २०६६/६७ को लिगपछि पहिलोपटक मनाङमाथि जित निकालेको हो । त्यसयता भएका पाँच खेलमा एनआटीले मनाङमाथि जित हात पार्न सकेको थिएन ।
मनाङ ११ औं चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबसँग ३-१ ले पराजित भएको थियो । मनाङले लिगमा लगातार दुई खेलमा हार बेहोरेको २०६६/६७ को लिगपछि पहिलोपटक हो । त्यतिबेला उसले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँगको लगातार दुई खेल गुमाएको थियो ।
रोमाञ्चक बन्दै गोल्डेन बुट होड
लिगको अन्तिम चरण बाँकी छँदै लिग विजेता र रेलिगेसनमा झर्ने टोलीको टुङ्गो लागि सकेको हुँदा खेलमा त्यति रौनकता बाँकी छैन । तर, व्यक्तिगत अवार्डका लागि भने चर्को प्रतिस्पर्धा देखिएको छ र त्यो हो- गोल्डेन बुट ।
एन्फाले पहिलोपटक लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुटको व्यवस्था गरेको छ । यही अवार्डका लागि अन्तिम चरणमा केही खेलाडीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि रहेका खेलाडी हुन्- फ्रेन्ड्स क्लबका जमोल एन्थोनी फ्रेन्कोइस । उनले प्रतियोगिताभर सात गोल गरेका छन् ।
ट्रिनिडाड एण्ड टोबागोका फ्रेन्कोइस १२ औं चरणमा च्यासलविरुद्ध दुई गोल गरेपछि सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा उक्लिएका हुन् ।
लिगको सुरुवाती ६ खेलसम्म गोल गर्न नसकेका फ्रेन्कोइसले सातौं चरणदेखि गोल गर्न थालेका थिए । एनआरटीविरुद्ध एक गोल गर्दै उनले खाता खोलेका थिए । आर्मी र जावलाखेलविरुद्ध समान एक गोल गरेका फ्रेन्कोइसले ब्रिगेड ब्वाइजविरुद्ध दुई गोल गरे ।
फ्रेन्ड्सले अन्तिम खेलमा हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । यो खेलमा कम्तीमा पनि एक गोल गरे गोल्डेन बुट उनको हातमा जाने प्रवल सम्भावना छ ।
फ्रान्काेइसलाई समान ६ गोलका साथ मनाङका ओलावाले अफिज तथा मछिन्द्रका सुनिल बलले पछ्याइ रहेका छन् । मनाङले अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी तथा मछिन्द्रले एपिएफ फुटबल क्लबको सामना गर्नेछ ।
समान पाँच गोल गरेका एपिएफका आशिष लामा र सातदोबाटोका माटिन्स अजयीका लागि पनि आफूभन्दा अगाडिका खेलाडी गोलविहीन बनेर अन्तिम खेलमा कम्तीमा दुई गोल गरेको खण्डमा गोल्डेन बुट जित्ने गणितीय सम्भावना भने अझै बाँकी छ ।
एपिएफले अन्तिम खेलमा मछिन्द्रको सामना गर्दा सातदोबाटोले च्यासलसँग खेल्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।