सहिद स्मारक ए डिभिजन लिगमा बिहीबारबाट १३औँ तथा अन्तिम चरणका खेल हुँदै छन् । आगामी चरणका खेलपछि सहिद स्मारक ए डिभिजन लिग समापन हुनेछ ।
जसमा मच्छिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरिसकेको छ भने शीर्ष चारभित्र अटाएका टोलीत्रय त्रिभुवन आर्मी फुटबल, न्युरोड टिम (एनआरटी) र मनाङ मस्र्याङी फुटबल क्लबबीच शीर्ष दुईका लागि रोमाञ्चक होड बन्दै छ ।
बिहीबार सहिद स्मारक ए डिभिजन लिगमा रेलिगेसनमा परिसकेको च्यासल युथ क्लबले दिनको १ बजे एन्फा कम्पलेक्समा सातदोबाटो युथ क्लबको सामना गर्दा सोही समयमा दशरथ रंगशालामा हिमालयन शेर्पाले फ्रेन्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
दुवै टोलीका प्रशिक्षकले सुखद् अन्त्यका लागि खेल्ने बताएका छन् । सातदोबाटो युथ क्लबले च्यासलको सामना गर्दा शीर्ष चारमा अटाउने लक्ष्य लिएर मैदान उत्रिनेछ । १२ खेलबाट १८ अंक जोडेको सातदोबाटो अहिले १८ अंकका साथ पाँचौँ स्थानमा छ ।
जित निकाले सातदोबाटोलाई शीर्ष चारमा अटाउने सम्भावना रहन्छ भने च्यासलले अन्तिम खेलमा जित निकाल्दै लिगको सुखद् अन्त्य गर्ने लक्ष्य हुनेछ । बिहीबार नै हुने अर्को खेलमा हिमालयन शेर्पा पनि फ्रेन्ड्सविरुद्ध तीन अंक जोड्ने लक्ष्य लिएर मैदान उत्रिनेछ ।
उता, रेलिगेसन संघर्षपूर्ण तरिकाले बचेको फ्रेन्ड्स पनि अन्तिम खेलमा जित निकाल्दै सुखद् अन्त्य गर्ने लक्ष्यमा हुनेछ । यस्तै, च्याम्पियन टोलीका प्रशिक्षक प्रवेश कटुवालले अपराजित रहँदै उपाधि उचाल्ने रणनीतिका लागि लिगको अन्तिम खेल खेल्ने बताए ।
च्याम्पियन मच्छिन्द्रले १२आंँ चरणको समाप्ति सम्म १० खेलमा जित निकाल्दा दुई खेलमा अंक बाँडेको छ । यस्तै, अर्को अपराजित टोली आर्मीले ५ खेलमा सुखद् नतिजा निकाल्दा ७ खेलमा अंक बाँडेको छ ।
१३औँ चरणको खेलअन्तर्गत दोस्रो स्थानका लागि संघर्ष गरिरहेका टोली त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मस्र्याङ्दी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै छ । यी दुई टोलीमध्ये कुनै पनि टोलीले जित निकाले उपविजेताको टोलीको टुंगो लाग्नेछ भने बराबरीको अवस्थामा समिकरण अर्कै टोलीको पोल्टामा समेत पर्नेछ ।
त्यसका लागि तेस्रो स्थानमा रहेको एनआरटीले नेपाल पुलिसलाई पराजित गर्नुपर्नेछ । यस्तै, अन्य टोलीले पनि अन्तिम खेल सुखद् बनाउने रणनीतिका साथ मैदान उत्रिनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।