रसियाका गैरआवासीय व्यापार प्रतिनिधि एलेक्जेण्डर रिवासले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग भेटेर काठमाडौं–मस्को सीधा हवाई उडान सञ्चालनका लागि दुईपक्षीय छलफल अगाडि बढाउन समन्वय गर्न आग्रह गरेका छन् ।
विगतमा हुँदै आएको काठमाडौं–मस्को हवाई उडान पछिल्लो समय विभिन्न कारणले बन्द रहेकाले उक्त बन्द रहेको उडान सञ्चालनका लागि पहल चाल्न मन्त्री आलेलाई रिवासले आग्रह गरेका हुन् ।
मन्त्रालयमा बुधबार भएको शिष्टाचार भेटघाटका क्रममा रसियाका गैरआवासीय व्यापार प्रतिनिधि रिवासले नेपाल–रसिया व्यापार, व्यवसाय तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुई देशबीच सहकार्य गरी काम अगाडि बढाउन आग्रह गरे ।
भेटकै क्रममा रिवासले रसियली हवाइजहाज र हेलिकोप्टर नेपाललाई के कति आवश्यक पर्छ सो विषयमा जानकारीसमेत लिए ।
रिवासले राखेका कुरामा मन्त्री आलेले रसियन हवाई जहाज सुप १०० वित्तीय व्यवस्थापनसहित सहुलियत दरमा दिन सक्ने खण्डमा नेपाल एरलाइन्स सहकार्य गर्न इच्छुक रहेको जानकारी दिए ।
यसैगरी, मन्त्री आलेले काठमाडौं–मस्को सीधा हवाई उडान सञ्चालनका लागि आवश्यक पहल गर्ने तथा भविष्यमा नेपाल एयरलाइन्सले पर्यटन प्रवर्द्धनका लागि आन्तरिक हेलिकोप्टरबाट पर्यटकका लागि उडान गर्ने योजना बनाइरहेकाले उक्त कार्यका लागि रसियाको हेलिकोप्टर कम्पनीसँग सहकार्य गर्न सकिने प्रतिबद्धता जनाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।