संसदमा एमसिसी, पर्वतमा रमाउँदै अर्थमन्त्री शर्मा

अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदमा आइतबार टेबल भएपछि संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमाथि एउटा रोचक प्रसंगबारे समाचारहरू आए । त्यो थियो-एमसिसी सम्झौतामा हस्ताक्षरदेखि टेबलसम्म !

सन २०७४ भदौ २९ गते एमसिसी सम्झौतामा हस्ताक्षर हुँदा पनि उनै कार्की सरकारका अर्थमन्त्री थिए । एमसिसीमा नेपालको तर्फबाट उनैले हस्ताक्षर गरेका थिए । संयोग नै मान्नुपर्छ व्यापक विवादकाबीच एमसिसी टेबल हुँदैगर्दा पनि उनै कार्कीले नै संसदमा टेबल गरे ।

खासमा अहिलेका अर्थमन्त्री जनार्दन शर्माले त्यो प्रस्ताव संसदमा टेबल गर्नपर्ने कार्यसूची बनेको थियो । तर, सोही दिन शर्मा बिरामी परेका खबरहरू सार्वजनिक भए । उनी संसदमा गयल भए।  

आइतबारको संसदमा बिरामी भएर संसदमा गयल भएका अर्थमन्त्री शर्मा आज पनि संसदमा गयल हुने भएका छन् । आज बिहीबार संसदमा एमसिसीबारे छलफल गर्ने संभावित कार्यसूची बुधबार दिउँसै संसद सचिवालयले सार्वजनिक गरिसकेको थियो । तर, शर्मा भने बुधबार बेलुकै आज बिहानै बलेवा विमानस्थलको अवलोकन गरेका थिए । 

त्यसपछि पर्वतको गुप्तेश्वर गुफा अवलोकन गरेका शर्मा कुश्मामा संचालित बन्जी जम्प हेर्न पुगेका थिए । उनले त्यहाँ गएर ‘स्काई चियर’मा बसेका तस्बिरहरू सामाजिक सञ्जालतिर देखिन थालेका छन् । 

पर्वत उद्योग वाणिज्य संघको ११ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनका लागि उनी पर्वत गएको माओवादी नेताहरूले बताएका छन् । कार्यक्रम सकेर पोखरा हुँदै काठमाडौं आउने यात्रा तय भएको उनको सचिवालयका एक सदस्यले बताए । 



त्यसो त, यता काठमाडौंमा भने आज पनि सडकहरू भरिभराउ छन् । अर्थमन्त्री स्वयं संलग्न पार्टीका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएर विरोध गरिरहँदा शर्मा भने पर्वतका कार्यक्रममा व्यस्त छन् । 

माओवादीको महाधिवेशनताका पार्टी काममा पनि निकै सक्रिय देखिएका शर्मा प्रचण्ड दौडधुप गरिरहँदा छल्न थालेका हुन् । उनलाई सरकारकै अर्थमन्त्री भइरहँदा विरोधमा उत्रन नैतिक संकट परेको माओवादी नेताहरू बताउँछन् ।



  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १३:१३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया