खप्तडमा बढ्याे चहलपहल, हेली टुरले बढायाे आकर्षण

कोरोनाले सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै तङ्ग्रिदै गएको छ । सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । 

फागुनको पहिलो साताबाट ‘हेली टुर’ सञ्चालन सुरु गरेपछि खप्तड घुमघामका लागि आन्तरिक पर्यटक पुग्न थालेका हुन् । खप्तडमा चहलपहल निकै बढिरहेकाे छ । 

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सुदूरपश्चिमको क्षेत्रको प्रवर्द्धनका लागि फागुन १ गतेबाट ‘हेली टुर’ सुरु गरिएको थियो । 

कोरोनाले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन यो ‘हेली टुर’को सञ्चालन भइरहेको नेपाल एसाेसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमले जनाएको छ । आर्थिक विकासका लागि आन्तरिक पर्यटनलाई चलायमान बनाउन आवश्यक रहेको नाटाको ठहर छ । 

‘हेली टुर’ सुदूरपश्चिमको खप्तड र बडिमालिका क्षेत्रमा गर्ने लक्ष्य भए पनि खप्तडमा मात्र सञ्चालन भइरहेको छ । बडिमालिकामा अत्यधिक हिउँका कारण ‘हेली टुर’ हुन नसकेकाे हाे । 

बडिमालिकामा बाक्लो हिउँका कारण हेलिकप्टर बस्न नसकेर पर्यटकहरू आकाशबाटै बडिमालिकाको दृश्यावलोकन गरेर फर्किरहेका छन् ।  



‘सुरुमा १० दिनका लागि ‘हेली टुर’को आयोजना गरेको हो’, खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले भने, ‘हेली टुर गर्नेहरूको संख्या धेरै भएपछि ५ दिन बढाएर फागुन १५ गते सम्म पुर्‍याएकाे छ ।’

पहिलो चरणमा विभिन्न प्याकेजसहित खप्तड दिपायल, झिग्राना खप्तड, धनगढी र महेन्द्रनगरदेखि झिग्राना, दिपायल बडिमालिका, दिपायल खप्तड बडिमालिका र  साँफेबगर बडिमालिका लगायत स्थानबाट अवलोकन गर्न जाने व्यवस्था मिलाइएको खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सका प्रबन्ध निर्देशक खड्काले बताए ।



बुधबारसम्म एक सय ६७ जनाले ‘हेलि टुर’ बाट खप्तड अवलोकन गरेका छन् ।

हेलिकप्टर चढेर सर्वसाधारणदेखि प्रदेशका मन्त्रीसमेत खप्तडको भ्रमण गरिरहेका छन् । केही दिन अघिमात्रै खप्तड बडिमालिका हेली टुरमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले खप्तडको भ्रमण गरेका थिए ।

प्रदेशका अर्थमन्त्री तारालामा तामाङ र भौतिक पूर्वाधारमन्त्री दीर्घ सोराडीले खप्तड भ्रमण गरेका हुन्। 

स्थानको हिसाबले १२ हजारदेखि ४० हजारसम्मका प्याकेजहरू उपलब्ध गराइएको छ । खप्तड डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थलको रूपमा रहेको छ । यहाँ वर्षमा ६ महिना हिउँले ढाकिने गर्छ । 

अहिले हिउँका कारण खप्तडको दृश्य मनमोहक छ । त्यसले गर्दा पनि खप्तड पुग्नेको संख्या धेरै भएको हो ।

खप्तडमा रहेका २२ पाटन हिउँले ढपक्क ढाकिए सुन्दरतामा झन् निखार थपिएकाे छ । खप्तडमा हिउँ करिब चार पाँच फिट जति रहेको छ ।

भू-स्वर्ग खप्तडमा पर्यटनको ठूलो सम्भावना रहेको पर्यटन व्यवसायी गजेन्द्र शाहील बताउँछन् ।

उनले हिउँ भएको बेला आन्तरिक र बाह्य पर्यटक घुम्नका लागि खप्तड निकै महत्वपूर्ण स्थान रहेको बताए । 

सम्भावना हुँदाहुँदै पनि खप्तडले पर्यटक पाउन नसक्नु दुःखद् रहेको उनले गुनासाे गरे । 

उपयुक्त व्यवस्थापन हुन नसक्नु, सुरक्षा अभाव लगायतका कारणले सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्रहरूले पर्यटक पाउन नसकिरहेको उनकाे भनाइ छ । 

सुदूरपश्चिम प्रदेशको डोटी, अछाम, बझाङ र बाजुरा गरी चार जिल्लामा यो निकुञ्ज फैलिएको छ। २२५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो निकुञ्ज पदयात्राका लागि ठूलो सम्भावना बोकेको ठाउँ हो । 

यहाँ खप्तड बाबाको मन्दिर र घाँसे मैदान अवलोकन गर्न लायक छ । खप्तड राष्ट्रिय निकुञ्जसम्म जानका लागि अब पहिलेको जस्तो कठिनाइ भने छैन । प्रदेशको अस्थायी राजधानी धनगढीबाट विमान चढेर डोटीसहित अन्य जिल्ला पुग्न सकिन्छ । 

पछिल्लो समय डोटीको झिग्रानामा झिग्राना र बझाङमा मुनाल होमस्टे सञ्चालनमा आएको छ । होमस्टे खुलेपछि दुवै रुटबाट खप्तड प्रवेश सहज बनेको छ । 

तर, खान, बस्न उचित व्यवस्था नभएका कारण पर्यटकका लागि याे गन्तव्य कठिन भएकाे छ ।

नेपाल बोर्डसँगै सुदूरपश्चिम प्रदेश सरकार र खप्तड राष्ट्रिय निकुञ्ज प्रवर्द्धक तथा नेपाल एसाेसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम  प्रदेश, माउन्टेन हेलिकप्टर र उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम तथा होटेल व्यवसायी महासंघ सुदूरपश्चिमको सहकार्यमा टुर आयोजना भइरहेको हो । 

  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १५:४९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया