को हुन् युक्रेनी राष्ट्रपति जेलेन्स्की ? जो पुटिनसामु झुक्न तयार छैनन्

युक्रेनले रुसी आक्रमणको सामना गरिरहेको छ । मिडिया रिपोर्टअनुसार युक्रेनमा १३७ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । रुसी सेनाहरू पूर्वी, दक्षिणी र उत्तरी सीमानाका बिन्दुहरूमा युक्रेन  छिरेका छन्। 

रुस र युक्रेनबीच विगत आठ वर्षदेखि तिक्तता देखिँदै आएको छ । सन् २०१४ मा रुसले छिमेकी देशमा राजनीतिक उथलपुथलको फाइदा उठाउँदै युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वीपमा सैन्य नियन्त्रण कायम गर्न थालेको थियो। 

युक्रेनको सेना र रुसी समर्थित विद्रोहीबीच पूर्वी युक्रेन डोनबासमा भने कहिल्यै युद्ध समाप्त भएन ।  युद्धमा अहिलेसम्म करिव १४ हजार मानिसहरूको मृत्यु भएको छ ।

को हुन् भोलोदिमिर जेलेन्स्की ?

भोलोदिमिर जेलेन्स्कीले युक्रेनको राष्ट्रपतिमा निर्वाचित हुनुअघि टिभीमा राष्ट्रपतिको भूमिका निभाएका थिए । सायद त्यतिबेला उनलाई थाहा थिएन कि एक दिन उनी वास्तवमै युक्रेनको राष्ट्रपति बन्नेछन् ।

जेलेन्स्की त्यो समयमा अभिनेता र स्ट्यान्ड अप कमेडियन थिए । उनी युक्रेनको सबैभन्दा लोकप्रिय कलाकारमध्ये एक हुन् । उनले अन्य कलाकारसँग मिलेर सन् १९९७ मा कमेडी ग्रुप ‘क्वार्टल ९५’ बनाएका थिए । 



यो समूहले टेलिभिजन कार्यक्रमहरू उत्पादन गरेको थियो । उनले आफ्नो एउटा कार्यक्रममा विद्यालय शिक्षकको भूमिका निभाएका थिए । सो कार्यक्रममा शिक्षक एक दिन युक्रेनको राष्ट्रपति बन्नुपर्ने देखाइएको थियो । 

सन् २०१९ को चुनावमा आश्चर्यजनक जित निकाल्दै जेलेन्स्की युक्रेनको राष्ट्रपतिमा निर्वाचित भएका थिए । जेलेन्स्कीको जीवन र करियर अन्य अन्तर्राष्ट्रिय नेताहरूको तुलनामा सामान्य छ । 



उनले पदभार ग्रहण गरेपछि धेरै संकटको सामना गर्नुपरेको छ । तर, उनले साहसका साथ यी संकटहरूको सामना गरिरहेका छन् । जेलेन्स्की विवाहित हुन् ।  

उनले २००० मा किभ राष्ट्रिय आर्थिक विश्वविद्यालयबाट कानुनमा डिग्री गरेका छन् । सन् २०१८ मा अचानक राजनीतिमा प्रवेश गरेका जेलेन्स्की  ‘जनताको सेवक’ पार्टीबाट राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गरे । 

राष्ट्रपति बनेदेखि जेलेन्स्कीको अमेरिकासँगको सम्बन्ध निकै राम्रो रहेको छ । यद्यपि उनले राष्ट्रपति बनेपछि रुसी राष्ट्रपतिसँग सुरुमा कूटनीतिक सम्बन्ध राख्ने प्रयास गरे पनि सफल भएनन् । उनले युक्रेनमा भिक्टर मेदवेदचुकलगायत रुस समर्थक राजनीतिक समूहविरुद्ध कडा कदम चालेका थिए ।  

  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १३:१८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया