सहिद स्मारक ए डिभिजन लिग आजबाट सकिँदैछ ।
लिगको अन्तिम चरण अन्तर्गत आज अन्तिम तीन खेल हुँदैछन् । जसमध्ये दुई दशरथ रंगशाला र एक एन्फा कम्प्लेक्समा हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
आर्मी र मनाङ आज जित निकाल्दै सिजनको सुखद् अन्त्य गर्न चाहन्छन् ।
आर्मी १२ खेलमा २२ अंक जोडेर दोस्रो तथा मनाङ १२ खेलमा २० अंकका साथ पाँचौं स्थानमा छन् ।
दिउँसाे १ बजे नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम (एनआरटी) ले नेपाल पुलिस क्लबकाे सामना गर्नेछ ।
दुवै टाेली आज जित निकाल्दै प्रतियाेगिताकाे सुखद् अन्त्य गर्ने साेचमा हुनेछन् ।
एनआरटी १२ खेलमा २० अंक जोडेर चौंथो तथा पुलिस १२ अंकका साथ ११ औं स्थानमा छन् ।
दशरथ रंगशालामा हुने दोस्रो खेलमा लिग विजेता मछिन्द्रले एपिएफ फुटबल क्लबकाे सामना गर्नेछ । लिगको अन्तिम खेलको रूपमा रहेको याे खेल साढे चार बजे सुरु हुनेछ ।
मछिन्द्र एपिएफलाई हराएर अपराजित रहँदै लिगकाे अन्त्य गर्ने प्रयासमा हुनेछ । एपिएफ पनि जितका साथ लिग सकाउन चाहन्छ ।
समान १२ खेलबाट मछिन्द्र ३२ अंक जोडेर शीर्षमा रहँदा एपिएफ १५ अंकका साथ आठौं स्थानमा छ ।
याे संस्करणमा मछिन्द्र फुटबल क्लबले उपाधि उचाल्दा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।