ए डिभिजन लिगको अन्तिम खेलमा मछिन्द्र विजयी
फरकधार / १४ फागुन, २०७८

सहिद स्मारक ए डिभिजनअन्तर्गत शनिबार भएको यो संस्करणको अन्तिम खेलमा लिग विजेता मछिन्द्र क्लब विजयी भएको छ । मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रशंगशालामा विभागीय टोली एपिएफ फुटबल क्लबमाथि २–१ को रोमाञ्चक जित हात पारेको हो ।



खेलको ४२औँ मिनेटमा अविशेक गुरुङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । उनले आन्द्रेस नियाको पासलाई सदुपयोग गरेका थिए । खेलको ७९औँ मिनेटमा प्रदीप लामाले एपिएफलाई १–१ को बराबरीमा ल्याए । 

यो गोलसँगै मछिन्द्रको ११ खेलसम्मको क्लिन सिट पनि तोडिएको छ । उसले पहिलो खेलमा न्युरोड टिम (एनआरटी)विरूद्ध गोल खाएको थियो ।



८१औँ  मिनेटमा आन्द्रेस मियाको पासलाई सदुपयोग गर्दै रेजिन सुब्बाले गरेको गोल निर्णायक बन्दा मछिन्द्रले २–१ को रोमाञ्चक जित दर्ता गर्यो ।



८८औँ मिनेटमा आवास लामिछानेले दोहोरो पहेँलो कार्ड बेहार्दै मैदान छाडेपछि एपिएफ १० खेलाडीमा सीमित बन्यो ।

योसँगै मछिन्द्र अपराजित रहँदै लिग जित्ने पाँचौँ टोली बनेको छ । यसअघि थ्रीस्टारले दुईपल्ट, न्युरोड टिम (एनआरटी), मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबले एक–एकपटक अपराजित रहेर लिग टुंग्याएका थिए ।

यो जितसँगै शीर्ष स्थानको मछिन्द्रले १३ खेलमा ३५ अंक जोड्दा समान खेलबाट १५ अंकका साथ एपिएफ आठौँ स्थानमा रह्यो ।

  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार १८:३५:७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया