संविधान कार्यान्वयनमा पूर्वराष्ट्रपतिको जोड

काठमाडौं– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक विमोचनमा उनले यस्तो बताएका हुन् । 

पौडेलको कृति ‘नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवाद’को विमोचन गर्दै उनले कांग्रेसको विचार र सिद्धान्तअनुसारको संविधान जारी भएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा कांग्रेस नै बढी जिम्मेवार हुनुपर्ने बताए । साथै उनले संविधानमा धर्म निरपेक्षताको व्यवस्था भए पनि मुलुकका विभिन्न भागमा धर्म परिवर्तनको क्रम तीव्र रुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । 

काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवाद आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै पूर्वराष्ट्रपति डा. यादवले पार्टीभित्र गुटउपगुट अन्त्य गरी एक भएर अघि बढ्न सुझाब दिए । विकास निर्माणका ठूला पूर्वाधारले तराई र चुरे क्षेत्रको वन विनाश हुँदा भूक्षय र मरुभूमिकरण बढ्दै गएको भन्दै यसलाई संरक्षण गर्न ध्यान दिनुपर्ने उनको आग्रह थियो । 

कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेस र कम्युनिस्टको समाजवादका सम्बन्धमा देखिएको विवाद र बहसको सन्दर्भमा आफूले पुस्तकमा कांग्रेस लोकतान्त्रिक समाजवादका सम्बन्धमा स्पष्ट पारेको बताए । विश्वमा राजनीतिक विचारधारा कमजोर भयो भने समाजमा अराजकता र विचलन हुने भन्दै उनले विचारकै प्रधानता हुनुपर्ने बताए । कांग्रेसमा विचारको खडेरी नभई बहसको आवश्यकता रहेको उनको दाबी थियो । पुस्तक जनता प्रसारण तथा प्रकाशन लिमिटेडले प्रकाशन गरेको हो । 

कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले कांग्रेसले भनेको समाजवाद लोकतान्त्रिक पद्धतिबाट प्राप्त हुने र कम्युनिस्टले चाहेको समाजवाद वर्ग संघर्षबाट प्राप्त हुने बताउँदै कांग्रेसले अवलम्बन गरेको लोकतान्त्रिक समाजवाद, उदार अर्थनीति, लोकतान्त्रिक शासन व्यवस्थामा कम्युनिस्ट दलहरु आउनु खुसीको कुरा भएको बताए । 

नेपालमा प्रजातन्त्र पुनःस्थापनापछि काङ्ग्रेस नेतृत्वका सरकारले अवलम्बन गरेका नीतिबाट नै शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, व्यापारलगायत क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको उनले जानकारी गराए । केन्द्रीय सदस्य प्रदीप गिरीले ग्रामीण क्षेत्रका निमुखा जनताको हितमा काम गर्न गान्धी, माओ र बिपीका विचारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै जनतालाई समावेश नगरी गरिने विकास दिगो र प्रभावकारी नहुने बताए । 



प्रा.डा. लोकराज बरालले राजनीतिमा समाजवादका विभिन्न परिभाषा र नाम भए पनि निमुखा जनताको हितमा गरिने काम नै वास्तविक समाजवाद भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा र जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा. विजय पौडेलले पुस्तकका प्रमुख विशेषताका बारेमा चर्चा गर्दै समाजवादको स्थापना र उद्देश्यका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।  
 



  • प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार १६:४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया