सत्ता पक्षलाई एमालेले भन्यो - संसद प्रवेशको बाटो बनाउनुहोस्, स्पष्ट दृष्टिकोणका साथ त्यहाँ प्रस्तुत हुन्छौं

सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमाले बीचको वार्ता ठोस निष्कर्षमा नपुगेर सकिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुवै दलका नेताहरू आ-आफ्नै अडानमा अडिग रहँदा छलफल कुनै निष्कर्षमा पुग्न नसकेको बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

'छलफलमा हामीले प्रतिनिधि सभा सुचारु गर्न आग्रह गरेका थियौं । तर, एमाले नेताहरूले पुरानै अडान दोहोर्‍याउनु भयो,' उनले भने ।

बैठकमा एमालेले संसदमा प्रवेश गर्ने वातावरण बनाउन आग्रह गरेको थियो । एमालेले सभामुखले आफूले कारबाही गरेका सांसदलाई राखेर सदन चलाइरहेको भन्दै विरोध जनाउँदै आएको छ । एमालेले माधव नेपालसहित १४ सांसद निष्कासन गर्न र सभामुखलाई हटाउन माग गर्दै आएको छ ।

कांग्रेसले एमसिसीलाई सदनबाट पारित गर्ने वातावरण बनाउन एमालेलाई आग्रह गरेको थियो । एमाले महासचिव शंकर पोखरेलले सत्ता पक्षलाई पहिला एमसिसीबारे स्पष्ट दृष्टिकोण बनाउन र संसदमा प्रवेश गर्ने बाटो बनाउन भनेको बताए ।

पहिला सत्तामा रहेका पार्टीहरूले संसदमा टेबुल भएको एमसिसीमाथि स्पस्ट दृष्टिकोण बनाउनुहोस्', बैठकमा एमालेले राखेको प्रस्तावबारे पोखरेलले भने, 'त्यसपछि सदनमा प्रवेश गर्ने बाटो बनाउनुहोस्, त्यस दिनदेखि हामी संसदमा स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत हुन्छौँ । त्यसमा तपाईंहरूले भनिरहुनपर्ने आवश्यकता हुँदैन ।'



सत्ता पक्षले आफ्नो कुरा राखेको र त्यसमा सहमति नजुटेको उनको भनाइ छ । उनले फेरि पनि छलफल गर्ने गरी बैठक टुंगिएको बताए ।

'मुलुकको लोकतान्त्रिक भविष्यका सन्दर्भमा र राष्ट्रिय हितका सन्दर्भका बारेमा दुई पार्टीबीच निरन्तर छलफल गर्ने कुरा भएको छ,' उनले भने, 'जबसम्म प्रक्रिया टुंगोमा पुग्दैन तबसम्म छलफल चलिरनै रहन्छ ।'



बैठकमा दुवै दलका दोस्रो तहका नेताबीच छलफल भएको हो । छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

त्यस्तै, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्की सहभागी थिए ।

  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार १९:३२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया