प्रचण्ड-माधवको ‘फेस सेभिङ’ गर्न एमसिसी अनुमोदनमा व्याख्यात्मक घोषणा

अन्ततः बहुचर्चित अमेरिकी विकास सहयोग परियाेजना (एमसिसी) प्रतिनिधिसभाबाट पास हुने भएको छ । यही परियोजनाका कारण तत्कालका लागि सत्ता गठबन्धन टुट्ने खतरा पनि टरेको छ । 

सत्तारूढ गठबन्धनमा देखिएको समस्याको समाधानस्वरूप ‘व्याख्यात्मक घोषणा’सहित एमसिसी अनुमोदनका लागि सत्तारूढ गठबन्धनमा सहमति भएको हो । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले सत्तारूढ गठबन्धनको समस्या समाधानका लागि ‘व्याख्यात्मक घोषणा’सहित संसदमा अनुमोदनका लागि तयार भएको बताए।

‘अहिलेको समस्या समाधानका लागि यो निर्णय भएको हो’, उनले फरकधारसँग भने । 

माओवादी केन्द्रले एमसिसीमा सहमति जनाइरहँदा सम्बद्ध भातृ संगठनहरू भने सडकमा एमसिसीको व्यापक प्रदर्शन गरिरहेका छन् । माओवादीभित्र पनि ५ जना नेताहरूले एमसिसी अनुमोदनका लागि तयार भएकोप्रति आपत्ति जनाएका छन् । माओवादी नेताहरू कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लीलामणि पोखरेल लगायतका नेताहरूले पार्टीको निर्णयविरुद्ध असहमति जनाएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी दल एमालेसँग बाक्लो उठबस गर्न थालेपछि झस्किएका प्रचण्ड र माधव नेपाल वैकल्पिक तयारीमा केही दिन अघिदेखि नै जुटिसकेका थिए । यतिबेला निरन्तर गठबन्धन टुट्न नहुने र अन्तिमसम्म प्रयास गरिरहने प्रचण्ड र नेपाल दुवैको सार्वजनिक अभिव्यक्ति थियो ।

सत्ता गठबन्धन र प्रतिपक्षी एमालेसँग समानान्तर भेटघाट भने कांग्रेसका नेताहरूले चलाखीपूर्ण तरिकाले गरिरहेका थिए । कांग्रेस महामन्त्री गगन थापा, सहमहामन्त्री पूर्ण बहादुर खड्का, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरू यसको तयारीमा थिए । महामन्त्री थापाले नै गठबन्धनको बैठकमा ‘व्याख्यात्मक घोषणा’को तयारी गरेका थिए । 



प्रचण्ड-माधवको ‘फेस सेभ’

एकातिर आफ्नै पार्टीका कार्यकर्ताहरू हप्तौंदेखि एमसिसीको विरुद्धमा सडक तताइरहेका छन् । माओवादी र नेकपा एकीकृतले पनि एमसिसी यथास्थितिमा पारित नहुने दाबी गरिरहेको थियो ।



गठबन्धन जोगाउनैका लागि एमसिसी सम्झौतामा ‘व्याख्यात्मक घोषणा’ थपेर पास गराउन खोज्नु प्रचण्ड-माधवको ‘फेस सेभिङ’ का लागि मात्र भएको कांग्रेसका एक नेता बताउँछन् ।

शनिबार दिउँसोसम्म पार्टीमा निर्णय लिन ‘अल्टिमेटम’ पाएका प्रचण्डले दिनभर नेताहरूसँग छलफल गरेका थिए । सडकमा आन्दोलित कार्यकर्तादेखि मन्त्री भएकासम्मको फरक फरक दबाब थेगेका प्रचण्ड-माधव सत्ता गठबन्धन बचाएरै जानुपर्ने प्रेसरमा थिए ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गठबन्धन टुट्दा टुट्ने राजनीतिक चिन्ताकाबीच प्रचण्ड माधव एमसिसी पास गराउन सहमत भएको हो ।

उता, प्रमुख प्रतिपक्षी दलले राखेको प्रस्तावमाथि देउवा सकारात्मक हुन सकेका थिएनन् । सभामुख हटाउनेदेखि आफैंलाई प्रधानमन्त्री बनाउने सांसदहरूको कारबाही समेतलाई समेट्न असहज भएको भन्दै देउवाले गठबन्धनमै सहमति जुटाउने प्रयास गरेका थिए ।

जसरी पनि आज र भोलिमा एमसिसी पास गराउने रणनीति बुनेका देउवाले कांग्रेसका दोस्रा नेताको सल्लाहमा व्याख्यात्मक घोषणा थपेर पास गर्ने तयारी अघि बढाएका हुन् ।

  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १३:४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया