सहिद स्मारक ए डिभिजन लिगलाई फर्केर हेर्दा : मछिन्द्र विजेता हुँदा बिग्रेड र च्यासल रेलिगेसनमा

यो संस्करणको ए डिभिजन लिग समाप्त भएको छ । यसपटक मछिन्द्र लिग विजेता बन्दा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबले शीर्ष डिभिजनको हैसियत गुमाए ।

यो सिजन अपराजित रहँदै लिग उपाधि जितेको मछिन्द्र क्लब सबैभन्दा कम गोल खाने र सबैभन्दा बढी गोल गर्ने टोली बन्यो । 

उसले १३ खेलमा मात्र दुई गोल बेहोर्दा २० गोल गर्न सफल भयाे । मछिन्द्रले पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र अन्तिम खेलमा एपिएफ फुटबल क्लबविरुद्ध एक-एक गोल खाएको थियो ।

अन्तिम स्थानको च्यासल सबैभन्दा कम गोल गर्ने टोली बन्यो । उसले लिगमा मात्र पाँच गोल गर्न सकेको थियो । समान २२ गोल बेहोरेका च्यासल र फ्रेन्ड्स लिगमा सबैभन्दा धेरै गोल खाने टोली बने । 

मछिन्द्रले लिगमा सर्वाधिक ११ क्लिन सिट राख्दा नेपाल पुलिस क्लबले सबैभन्दा कम दुई खेलमा क्लिन सिट राख्यो । 

मछिन्द्र क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले मात्र यो संस्करणको लिग अपराजित रहँदै टुङ्गाएका छन् । मछिन्द्र लिगमा सर्वाधिक ११ जित निकाल्ने टोली बन्दा च्यासल र ब्रिगेड ब्वाइजले सबैभन्दा कम १ खेलमा मात्र जित हात पारे ।



दोस्रो स्थान हासिल गरेको आर्मी लिगमा सबैभन्दा बढी बराबरीको नतिजा निकाल्ने टोली बन्यो ।  उसले आठ खेलमा बराबरीको नतिजा निकालेको थियो । 

मछिन्द्रले मात्र २ खेल बराबरी खेल्यो । मछिन्द्रका सुनिल बल लिगको सर्वोकृष्ट खेलाडी बन्दा ७ गोल गरेका फ्रेन्ड्सका जमोल एन्थोनी फ्रेन्कोइसले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट हात पारे।  मछिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए ।



लिगका ९१ खेलमा ३ ह्याट्रिक र ६ आत्मघाती गोलसहित कुल १९० गोल भए ।

३ ह्याट्रिक विदेशी खेलाडीको नाममा

यो लिगमा ३ ह्याट्रिक भए । ३ वटै ह्याट्रिक विदेशी खेलाडीको नाममा रह्यो । नवप्रवेशी सातदोबाटोका अजयी मार्टिन्स ,मनाङका ओलावाले आफिज र न्युरोड टिम (एनआरटी) का मेसुके ओलोमोउले ह्याट्रिक गरेका हुन् ।

मार्टिन्स अजयी

लिगको पहिलो ह्याट्रिक मार्टिन्सले गरे । उनले तेस्रो खेलमा एपिएफविरुद्ध प्राप्त ४-१ को जितमा ह्याट्रिक पूरा गरेका थिए । मार्टिन्सले खेलको ४३ औं, पहिलो हाफको इन्जुरी समय र ५८ औं मिनेटमा गोल गरेका थिए । लिगमा उनको नाममा कुल ६ गोल रह्यो ।

मार्टिन्सले त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ र च्यासलविरुद्ध एक-एक गोल गरे । 

ओलावाले अफिज

पहिलो ७ खेलमा दुई गोलमात्र गरेका अफिजले मनाङको घरेलु मैदान पोखरा रंगशालामा च्यासलविरुद्ध ह्याट्रिक गरेर आफ्नो लय समाते ।

च्यासलविरुद्ध ५-० को जितमा आफिजले ४३ औं र इन्जुरी समयमा दुई गोल गर्दै जारी लिगको दोस्रो ह्याट्रिक आफ्नो नाममा लेखाउन सफल भए । आफिजले हिमालयन शेर्पा, फ्रेन्ड्स र सातदोबाटोविरुद्ध एक-एक गोल गरे ।

मेसुके ओलोमोउ 

लिगको अन्तिम दिनमा आएर तेस्रो ह्याट्रिक निस्कियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एनआरटीका मेसुके ओलोमोउले नेपाल पुलिसविरुद्ध ३-१ को जित निकाल्दा टोलीका लागि ३ गोल गरे ।

उनले ४७, ६२ र ८३ औं मिनेटमा गोल गर्दै लिगको तेस्रो ह्याट्रिक आफ्नो नाममा गराएका हुन्। उनले लिगभर कुल सात गोल गरे । 

ओलोमोउले फ्रेन्ड्सविरुद्ध दुई तथा एपिएफ र मनाङविरुद्ध एक-एक गोल गरे

आफ्ना सबै खेलाडी उतार्ने फ्रेन्ड्स एक्लो टोली

रेलिगेसनबाट बच्न निकै संघर्ष गरेको ललितपुरे टोली फ्रेन्ड्सले लिगमा सर्वाधिक ३४ खेलाडीलाई अनुबन्धन गरेको थियो । उसले अन्तिम खेलमा हिमालयन शेर्पाविरुद्ध दुई खेलाडीलाई ‘डेब्यु’ गराउँदै दर्ता भएका सम्पूर्ण खेलाडी मैदान उतार्‍याे ।

यो पटकको लिगमा फ्रेन्ड्सका ६ खेलाडीले कप्तानी गर्ने अवसर प्राप्त गरे । उसका लागि प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, सुरज विश्वकर्मा, असिम भुषाल, नाथनियल गार्सिया र जामोल एन्थोनी फ्रेन्कोइसले कप्तानी गरेका थिए ।

आठ वर्षपछि घरेलु फुटबलमा अनिल गुरुङको गोल

रेलिगेसनमा परेको ब्रिगेड ब्वाइज (बिबिसीका) कप्तान तथा राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङले आठ वर्षपछि घरेलु फुटबलमा गोल गरे । 

२०७० सालको राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दीबाट गोल गरेयता गुरुङले २०७५ सालकाे लिग थ्रिस्टार र २०७६ सालको लिग बिबिसीबाटै खेले पनि गोलविहीन थिए । 

२०७६ सालमा पेनाल्टीमा चुकेका अनिल यसपाली भने फ्रेन्ड्सविरुद्ध ८६ औं मिनेटमा पेनाल्टीमार्फत् नै गोल गर्न सफल भएका थिए । 

गोलरहित १०९५ मिनेट

लिग विजेता मछिन्द्रका लागि उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक विशाल श्रेष्ठले लिगका १३ खेलमा मात्र दुई गोल बेहोरे । उनले लिगको पहिलो खेलमा एनआरटीविरुद्ध अन्तिम खेलमा एपिएफविरुद्ध गोल खाएका थिए । 

एनआरटीका एरिक विष्टले ५४ औं मिनेटमा फ्रिकिकमार्फत् गोल गरेका थिए । एपिएफका प्रदीप लामाले ७९ औं मिनेटमा गोल गरेका हुन् । यसबीच ११ खेलमा क्लिन सिट राखेका विशालले १०९५ मिनेट बिना कुनै गोल मैदानमा बिताए । 

मनिषको चोट 

पहिलो हाफमै मछिन्द्रले च्यासलविरुद्ध २-० को अग्रता लिएको थियो । दोस्रो हाफमा थप आक्रामक बनेको मछिन्द्रले ६१ औं मिनेटमा सुनिल बलकाे स्थानमा मनीष डाँगीलाई मैदान पठायो।  तर, मैदान प्रवेश गरेको चौथो मिनेटमै विपक्षी खेलाडीसँग ठोकिन पुग्दा मनीष मैदानमा बजारिए ।

केचा यानिकसँग टाउको ठोक्किएर ढलेका मनीष केही समय बेहोस भएका थिए । त्यसपछि दशरथ रंगशाला परिसरको माहोल एकएक तनवापूर्ण बन्न पुग्यो । 

नेपाली खेलाडी मनिषको अवस्था देख्दा आत्तिरहँदा दर्शकहरूले पनि उनको स्वास्थ्य लाभ गर्दै भगवानलाई पुकारिरहेका थिए । 

यसले गत वर्ष युरो कपका दौरान मैदानमै बेहोस भएर ढलेको डेनमार्कका एरिक क्रिस्टियनसनको घटनालाई सम्झायो । केही क्षण दशरथ रंगशालाको माहोल त्यस्तै बन्यो ।

करिब ९ मिनेटपछि मैदानमा ढलेका मनीषलाई फिजियोथेरापिस्टसँगै दुई अफ्रिकी खेलाडीको कडा मिहिनेतले होसमा ल्यायो । 

हाेसमा आएपछि मनीषलाई नजिकैको ब्ल्युक्रस अस्पतालमा लगियाे । अस्पतालमा २४ घण्टाको बसाइपछि डिस्चार्ज भएका मनिष त्यसपछि मैदान भने उत्रिएनन् ।
 
नाम मात्रको ‘विकेन्ड लिग’

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपालीको लिग हप्ताको चार दिनमात्र खेलाउने र साँझ रंगशालामा ‘फ्लडलाइट’ बालेर गर्ने भन्दै खुबै चर्चा गर्‍याे । तर व्यवहारमा भने त्यस्तो रहेन ।

सुरुवाती केही चरण सप्ताहन्तमा गरेजस्तो गरेर झारो टराइ पारामा नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सम्पन्न भएको छ । 

सप्ताहन्तमा हुने भनेर सुरु गरिएको प्रतियोगिताका नवौं चरणसम्म हप्तामा चार दिन खेलाइयो । तर नवौं चरणको समाप्तिपछि भने एन्फा उनी पुरानै पारामा फर्कियो ।

१० औं चरणदेखि एक चरणको समाप्तिपछि मात्र एक दिनको ग्याप राखिएको थियो । खेलाडीले हप्तामा कम्तीमा पनि दुई खेल खेल्नुपर्‍याे ।

पोखरामा लिग

ए डिभिजन लिगको ६७ वर्षे इतिहासमा पहिलोपटक काठमाडौं उपत्यका बाहिर पनि खेल भयो । मनाङले नेपाल पुलिस क्लब, बिग्रड ब्वाइज क्लब र च्यासल युथ क्लबविरुद्धको खेल पोखरा रंगशालमा खेलेको थियो ।

यसपटकको लिगमा दशरथ रंगशालासहित पोखरा रंगशाला र एन्फा कम्प्लेक्समा खेलाइएको थियो।
 

  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १४:१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया