श्रीलंकाविरुद्धको टी–२० सिरिज भारतले क्लिन स्विप गरेको छ । गएराति भएको तेस्रो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै भारतले सिरिज ३–० ले क्लिन स्विप गरेको हो ।
तेस्रो खेलमा श्रीलंकाले दिएको १४७ रनको लक्ष्य भारतले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा भेट्टायो । उसका लागि श्रेयस अय्यरले शानदार पारी खेले । उनले ४५ बलमा ९ चौका र एक छक्काको सहयोगमा अविजित ७३ रन बनाए ।
त्यस्तै, तेस्रो खेलमा रवीन्द्र जडेजाले नटआउट २२, दीपक हूडाले २१ र सञ्जु सामसनले १८ रनको योगदान दिए । श्रीलंकाका लाहिरु कुमारा, चमिका करुणारत्ने र दुश्मन्था चामेराले एक/एक विकेट लिए ।
त्यसअघि हिमाञ्चल प्रदेशस्थित धर्मशाला क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनायो । उसका लागि कप्तान दासुन शनाकाले उत्कृष्ट पारी खेले । उनले ३८ बलमा ९ चौका र २ छक्कासहित ७४ रन बनाए । त्यस्तै, दिनेश चन्डिमलले २५ र चमिका करुणारत्नले नटआउट १२ रनको योगदान दिए ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा आवेश खानले दुई, हर्षल पटेल, रवि विश्नोई र मोहम्मद सिराजले एक/एक विकेट लिए । टी–२० पछि अब भारत र श्रीलंकाले दुई खेलको टेस्ट सिरिज खेल्ने छन् । सिरिज ४ मार्चदेखि सुरु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।