बलात्कार आरोपी मुगुका सांसद बानियाँ प्रहरीको फरार सूचीमा

बलात्कार आरोपित नेकपा एमालेका समानुपातिक सांसद मोहन बानियाँ प्रहरीको फरार सूचीमा रहेका छन् । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका मुगुका बानियाँ नेकपा एमालेका समानुपातिक सांसद हुन् । 

माघ १९ गते नेपालगञ्जको एक होटेलमा बलात्कार गरेको भन्दै सांसद बानियाँविरुद्ध जुम्लाकी एक महिलाले माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । 

बाँके प्रहरीले फागुन २७ जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्ताको भएको सात दिन अर्थात् फागुन ४ गते जिल्ला अदालत बाँकेले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारीसमेत गरेको थियो । 

पक्राउ पुर्जी जारी भएको झण्डै दुई साता बितिसक्दा पनि सांसद बानियाँ अझै पक्राउ परेका छैनन् । बाँके प्रहरीले पक्राउका लागि प्रहरी परिचालन गरेको र छिटै पक्राउ गर्छौं भन्दै आलटाल गरिरहेको पीडित महिलाको गुनासो छ । 

पीडित महिलाका अनुसार पक्राउ पुर्जी जारी भए पनि प्रहरीको फरार सूचीमा रहेका बलात्कार आरोपित सांसद बानिया खुलेआम घुमिरहेको र प्रहरी मूकदर्शक बनेको छ । बलात्कारजस्तो जघन्य अपराधको आरोप लागेका सांसद बानियाँलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्नेमा प्रहरीले आलटाल गरेको पीडित पक्षको भनाइ छ ।  

त्यस्तै, जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम अधिकारीले फरार सूचीमा रहेका बलात्कार आरोपित सांसद बानियाँलाई १–२ दिन भित्रै पक्राउ गरिने बताए । ‘पक्राउ पुर्जी जारी भएपछि आरोपित सांसदले आफैँ प्रहरीसमक्ष उपस्थित हुने भन्नुभएको थियो,’ एसपी अधिकारीले भने, ‘सांसद बानियाँ सम्पर्कमा नआएपछि पक्राउमा ढिलाइ भएको हो ।





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १८:५६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया