नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले युवा तथा खेलाडीलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । सोमबार धनगढीमा भएको नेपाल खेलकुद महासंघ (नेकोस) सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै एमाले सचिव भट्टले खेलाडीले खेलका माध्यमबाट देशलाई विश्वभर चिनाउने भएको हुँदा इमानदारीका साथ लाग्नुपर्ने बताए ।
नेता भट्टले अब सबै युवा, खेलाडीले पनि नेपालीको मन जित्ने लोकप्रिय काम गर्ने बेला आएको र युवाहरूबाट नै एमालेले नेतृत्व खोजिरहेकोमा जोड दिए । खेलकुद क्षेत्रमा राज्यको उल्लेख्य लगानी नहुँदा पनि खेलाडीले आफ्नै खर्चमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपाललाई खेलका माध्यमबाट चिनाइरहेको बताए ।
नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनले प्रकाशबहादुर चन्दको नेतृत्वमा प्रदेश कमिटी समेत चयन गरेको छ ।
बुटवलमा भएको महाधिवेशनमा खेलको क्षेत्रमा हेर्ने छुट्टै संगठनको माग भए बमोजिम फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा देशव्यापी रुपमा प्रदेशस्तरीय नेपाल खेलकुद महासंघका अधिवेशन सम्पन्न भइरहेका छन् ।
यही फागुन १४ गते बागमती प्रदेशमा अधिवशन सम्पन्न भएको थियो । सोही नीतिअनुरुप सोमबार सुदूरपश्चिम प्रदेशमा अधिवेशन सम्पन्न भएको संघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले बताए ।
यसपछि कर्णाली, मधेस हुँदै झापा पुगेर अधिवेशन समापन हुने अध्यक्ष बस्नेतले बताए । मुलुक संघीयता गएपछि नेकोसका देशव्यापी रुपमा कमिटी चयन गरिरहेको बस्नेतले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।