शंकर दाइलाई बिर्सिनु भनेको अपूर्ण हुनु हो
शैलेन्द्र साकार
फरकधार / २८ मंसिर, २०७५

‘शंकर लामिछाने’ भनेर उहाँको नाम सुनिरहेको थिएँ । मेरो पनि नाम शंकर नै भएको र साहित्यमा नै लागेकाले उहाँका बारेमा जान्ने उत्सुकता निकै थियो । यदाकदा उहाँका लेखहरू पनि पढिरहेको थिएँ । 



वसन्तपुर परिसरमा सानो घर भाडामा लिएर परशु दाइसँगै बस्ने गरेको थिएँ । पुरानो लड्न लागेको थियो घर । त्यो बेला सुवास थुलुङ नाम गरेका भोजपुरका एक मित्र आए ।

कुरैकुरामा उनले एक दिन भने– ‘शंकर लामिछानेकहाँ जाऊँ ।’ मैले ‘के भनेर जाने ? न तिमीले चिनेको, न मैले’ भन्दा आफूले चिनेको बताए । शंकर दाइसँग आफ्नो नाता पर्ने उनले बताए । दाइलाई भेट्न जाँदा केही काम लिएर जाऊँ भन्ने प्रस्ताव राखेँ । 

सुवास थुलुङ तत्कालीन वन तथा स्थानीय शासनमन्त्री नारदमणि थुलुङका कान्छा छोरा हुन् । शंकर दाइकी श्रीमती (रत्ना भाउजू) सुवासकी भान्जी–दिदी पर्नुहुने रहेछ । नारदमणि थुलुङकी भान्जी हुनुहुन्थ्यो रत्ना भाउजू । 



(शंकर दाइ र रत्ना भाउजूको विवाहमा पनि एउटा कथा रहेछ । नारदमणि विसं २०१० सालमा वनमन्त्री हुँदा उनकी भान्जी रत्ना राई दार्जिलिङबाट नेपाल आएकी रहिछन् । नारदमणि त्यो बेला ताहाचलमा बस्ने गर्नुहुँदो रहेछ । मन्त्रीको घरमा विभिन्न तामझाम त हुने नै भयो । उनको घरमा ‘ब्याडमिन्टन’ खेल्ने कोर्ट पनि रहेछ । त्यहाँ ब्याडमिन्टन खेल्न शंकर दाइ पनि जानुहुँदो रहेछ । त्यहाँ आउँदाआउँदै शंकर दाइको रत्नासँग भेट भएपछि प्रेम भएछ ।)

सुवाससँग त्यहाँ गएपछि भाउजूले हामीलाई माइती भन्न थाल्नुभयो । त्यस दिन हामीले शंकर दाइसँग बसेर पिएका पनि थियौं । शंकर दाइ आफूले लेखेका धेरै कुरा सुनाउनुहुन्थ्यो । त्यसबेला दाजुले सुनाउनुभएको ‘म भोलि जन्मनेछु’ सुन्दा फरकपन पायौं । वर्षौैंदेखि पढिआएको नेपाली निबन्धभन्दा निकै फरकपन र आधुनिक लेख्नुभएको थियो दाजुले ।

त्यसपछि जाने–आउने क्रम अझ बाक्लियो । जाँदा शंकर दाइसँग बसेर पिउने सामान्य हुन थाल्यो । शंकर दाइ विभिन्न विषयका बारेमा सुनाउनुहुन्थ्यो । आफूले देवकोटासँग संगत गर्दाको समय, गोपालप्रसाद रिमालसँग गल्लीगल्लीमा हिँडेका कैयौं रमाइला किस्सा सुनाउनुहुन्थ्यो ।

दाजुको पिउने बानी सम्भ्रान्त किसिमको थियो । अभिजात लाग्थ्यो मलाई । ताहाचालमा दाजु बस्ने घर पुरानो देखिए पनि भित्र भने निकै सुन्दर । विभिन्न पेन्टिङ सजाइएको । दाइ अधिकांश समय सुटपेन्टमा सजिएर बस्नुहुन्थ्यो । पिउने कुरामा पनि दाजुको विशेष ब्रान्ड थियो । शंकर दाइले धेरै रक्सी खाएकोमा भाउजूले बेलाबेला गाली गरेको पनि सुनेको थिएँ ।

शंकर दाइको एक जना खास साथी थिए– तुलसीनाथ ढुंगेल । उनी लोकल भनेपछि मरिहत्ते गर्थे । दाजुलाई पनि उनको खुब लगाव थियो । तुलसीनाथ आइरहन्थे दाजुकोमा । हामी त्यहाँ हुँदा उनीसँग चिनजान भयो । हेर्दा लुते र अग्ला । शंकर दाइ भने डल्ले । शंकर दाइ, भूपी, तुलसीनाथ, भीमदर्शन रोक्का दैनिक भेला हुने, बसेर पिउने र विभिन्न विषयमा गफ गर्ने गर्थे । 

पहिलोपटक दाइलाई भेट्न जाँदा केही लेख्नु भनेका थियौं । दाजुले पनि लेख्न भनेपछि मान्नुभयो । उहाँले लेख्नुभएको थियो– ‘तुलसी तिमीजस्तो यत्रो योग्यता भएको मान्छे, यति राम्रो राजनीति र अंग्रेजीको ज्ञान भएको जान्नेबुझ्ने मान्छे, एउटा गाउँले केटीको प्रेममा फसेर सुदूर पश्चिममा गएर बस्ने हो त ?’ त्यो बेलामा तुलसीनाथ उता गएका रहेछन् । उतै गाउँमा बिहे गरेर बसेका रहेछन् । पछि कवितारामले ती सबैलाई ‘विचार कब्जा’ नाम दिएर पुस्तक नै निकालेका छन् । 

परशु दाइ र म बारम्बार शंकर दाइकोमा जाने गथ्र्यौं । शंकर दाइ ‘आफूले यत्रो लेखिसक्दा पनि छापिएन’ भन्नुहुन्थ्यो । परशु दाइले ‘छाप्ने काम म गर्छु’ भन्नुभयो । दाइले ‘पुस्तक सञ्चार विराटनगर’का कृष्णप्रसाद काफ्ले र देवीप्रसाद काफ्लेसँग कुरा गर्नुभयो । बागबजारमा उनीहरूको पुस्तक पसल थियो । परशु दाइले त्यहाँ सबै कुरा मिलाइदिनुभयो र पहिलोपटक शंकर दाइको ‘गोधुलि संसार’ र ‘एब्स्ट्रयाक्टः चिन्तन प्याज’ छापियो ।

शंकर दाइसँग अंग्रेजी साहित्यको दखल थियो । भाषाको माधुर्य पनि उत्तिकै उत्कृष्ट । दाजुले ‘पाँच सय पाइला’ लेख्नुभएको थियो । पछि लेख्नुको कारण खुलाउँदै भन्नुहुन्थ्यो– ‘मेरो घरबाट गोरखापत्र संस्थान पुग्न पाँच सय पाइला रहेछ । त्यसैलाई लेखेको ।’ ससाना कुरालाई पनि ध्यानमा राखेर हिँड्नुहुन्थ्यो दाजु । 

शंकर दाइले धेरै निबन्ध लेख्नुभयो । तर, पछि चोरीको आरोप लागेपछि भने लेख्न छोड्नुभयो । आरोप लाउने पनि को थियो, कसैले थाहा पाएन । 

अत्यन्तै भावुक हुनुहुन्थ्यो शंकर दाइ । बोल्दा पनि अत्यन्तै साहित्यिक भाषा बोल्ने गर्नुहुन्थ्यो । यस्तो लाग्थ्यो, उहाँ हरेक समय केही न केही सोचेर डुबिरहनुभएको जस्तो । 

शंकर दाइ नेपालीमा हाइकु लेख्ने पहिलो व्यक्ति । ‘रूपरेखा’मा उहाँको हाइकु छापिँदा हामी छक्क परेका थियौं । तीन हरफमा के लेखेको होला जस्तो लाग्थ्यो । 

शंकर दाइमा निकै सहयोगी भावना थियो । सबैलाई सहयोग गर्न खोज्नुहुन्थ्यो । भएसम्म गर्नु पनि हुन्थ्यो । एकपटक भारतबाट बिहार चोपडा नाम गरेको चित्रकार नेपाल आएको थियो । उसलाई साथ लिएर शंकर दाइ ठाउँठाउँ हिँड्नु भयो, उसको चित्र बिकाउन ।

शंकर दाइका बारेमा सम्झिँदा मदन पुरस्कारको कुरा हो सधैं स्मरणमा आइरहन्छ । मदन पुरस्कार घोषणा भएपछि बधाई दिन जाँदा न्युरोडमा भेट भयो । त्यहाँ ‘बधाई’ दिँदा ‘मदन पुरस्कारको रकमले म मरिहालें भने दाउरा किन्न पनि पुग्दैन’ भन्नुभयो । उहाँले त्यसो भन्दा अलिक असहज लाग्यो । पुरस्कार वितरणमा आउनू भन्नुभएको थियो । तर, पछि जान सकिएन । शंकर दाइ त्यहाँ भीमदर्शन, तुलसीलाई कुरिरहनुभएको रहेछ । उनीहरू आएपछि म त्यहाँबाट हिँडेँ ।

शंकर दाइ ४८ वर्षमा बित्नुभयो । ‘म्यानेन्जाइटिस’ रोग लागेको रहेछ । हामीलाई त्यो रोग भनेको के भन्नेसमेत थाहा थिएन । उहाँलाई वीर अस्पतालमा राखिएको थियो । हामी हेर्न जाँदा भित्र जान दिइएन । दाइ भित्र बेडमा निष्क्रिय भएर मुढाजस्तै ढलिरहनुभएको थियो । 

न्युरोडमा हिँडिरहने शंकर दाइ हामीबाट टाढा जानु भइसकेको थियो । नेपाल–भारत पुस्तकालयमा हिँडिरहने सुट लगाएको मान्छे पनि थिएन । उहाँको सम्झनामा पछि शोकसभा आयोजना गर्यौं, रत्ना भाउजूलाई प्रमुख अतिथि बनाएर । 

औपचारिक पढाइ आइए भए पनि शंकर दाइमा अंग्रेजी साहित्यको अथाह ज्ञान थियो । एकपटक सोधेको थिएँ, ‘कति पढ्नुभएको छ’ भनेर । उहाँले भन्नुभयो, ‘आइए पढ्दापढ्दै एमएबराबर भएजस्तो लाग्यो, आफैंलाई पास गरेर पढाइ छोडिदिएँ ।’ साह्रै अध्ययनशील मान्छे हुनुहुुन्थ्यो । उहाँको लेखनमा विविध समेटिएको पाइन्छ । 

शंकर दाइको लेखाइ हेरेर म छक्क पर्छु । भाषामा उनको जस्तो ‘कमान्ड’ कसैको पनि छैन । निबन्ध लेखनमा शंकर दाइलाई तुलना गर्न सक्ने नेपाली लेखक आजसम्म जन्मिएको छैन । भाषा मात्र नभएर उहाँले आफ्ना निबन्धमा समाएको विषयवस्तु नै व्यापक छ– ठूलो क्यानभासजस्तो । ‘नागार्जुन शून्यवाद’ सम्बन्धी ज्ञान शंकर दाइसँग भएको जति आजसम्म पनि कसैसँग छैन । 

दाइको कृतिमा ‘एब्स्ट्रयाक्टः चिन्तन प्याज’ सबैभन्दा बढी मन पर्छ । उहाँको निबन्ध ‘म भोलि जन्मनेछु’ सबैभन्दा मनपर्ने रचना हो मेरा लागि । उहाँको लेखन देख्दा अहिले पनि आश्चर्य लाग्छ । जापानी साहित्य र देवकोटाबाट निकै प्रभावित हुनुहुन्थ्यो उहाँ । शंकर दाइ र देवकोटाको भाषा उस्तैगरी बगेको हुन्छ– नदीजस्तो । अवचेतन मनले सोच्ने विषयको ज्ञान शंकर दाइमा धेरै थियो । उहाँलाई ‘बौद्धिक चोरी’को आरोप लगाए पनि त्यसलाई चोरी नभनेर प्रभाव भन्नुपर्छ जस्तो लाग्छ । 

शंकर दाइ एक अभूतपूर्व साहित्यकार । भाषामाथिको उहाँको अधिकार आजसम्म कसैले खोस्न सकेको छैन । उहाँले लेख्ने शैली र भाषाको माधुर्य कसैको पनि पाएको छैन आजसम्म । नेपाली साहित्यमा शंकर दाइलाई बिर्सिनु भनेको अपूर्ण हुनु हो । उहाँविना नेपाली साहित्य कदापि पूर्ण हुन सक्दैन ।
 

  • प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार १४:२९:५८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया