नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसिसी सम्झौताका बारेमा केपी ओलीकै सरकारका मन्त्रीहरुले भ्रम फैलाएको आरोप लगाएका छन् । ‘एमसिसीको सन्दर्भमा अनेक विभिन्न कारणले विवादहरु सिर्जना भए । त्यो सिर्जना गर्ने भनेको केपी ओली सरकारका मन्त्रीहरु हुन ।’
पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भनेका छन्, ‘केपी ओलीको व्यक्तिवाद, अहंकारवाद, चिन्तन सोच, उहाँले सिंगै देशको लोकतन्त्रलाई समाप्त पार्ने उद्देश्य राख्नुभयो । एकलौटी शासनसत्ता संचालन गर्ने, आफूमात्र औँला ठड्याउनेलाई समाप्त पार्ने, उहाँले गर्नुभयो ।’
उनले एमसिसीबारे थप प्रष्ट कुरा गर्दै भनेका छन्, ‘एमसिसी आफैं अघि बढाउने । एमसिसीको बारेमा मेरो पूरा समर्थन छ पनि भन्ने । शर्त के राख्ने भन्ने, सभामुखलाई निकाल, १४ जनालाई निकाल, पार्टीको दर्ता खारेज गर्देऊ, पाँच दलीय गठबन्धन तोड, हामीलाई मुख्यमन्त्रीहरू केही देउ, हामीले भनेका मान्छेलाई मन्त्री बनाइदेउ त्यही छ ।’
एमसिसीमा आइपिएसको विषय जोडिएपछि भ्रम सिर्जना भएको उनको भनाइ छ । ‘जब यसमा आइपीएसको कुरा जोडिइसकेपछि यसले समस्या खडा गर्यो । त्यही बेलामा दरबारमार्गमा आयोजित कार्यक्रममा केपी ओलीका मन्त्रीहरुले र विभिन्न ठाउँमा उनीहरुले आइपीएसको सन्दर्भमा चर्चा पनि गरेका छन’ उनले अघि प्रश्न गर्दै भने, ‘अनि यो सत्य हो ? यदी जनता सडकमा नउत्रिएको भए, जबरजस्ती आवाज नउठाएको भए, अहिले त्यो हटाइयो । अमेरिकाले एमसिसीको सूचीबाट हटाएको कुराहरु हामीले सुन्यौं ।’
आफूहरु स्वतन्त्र परराष्ट्र नीतिमा अघि बढ्न चाहेको भन्दै नेपालले भने, ‘हामी स्वतन्त्र र असल परराष्ट्र नीतिमा अघि बढ्न चाहन्छौं । यसमा विमत छैन । अहिले त कुरा के भएको हो भने, जनतामा आशंका सिर्जना भयाे, त्यो काम केपी ओलीले गरे ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।