रुस-युक्रेन युद्धबाट जाेगिँदै सुरक्षित स्थानमा पुगे ३०२ नेपाली

युद्धग्रस्त मुलुक युक्रेनको राजधानीबाट ३०२ नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काका अनुसार हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेका हुन् । 

मंगलबारसम्म युक्रेन छाडेर २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिले जनाएको छ । 

यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तरणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो  ।

उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले रुसमा रहेका नेपालीले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीसँग सम्पर्क रहेको जानकारी दिए ।

रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी केभमा रहेका सम्पूर्ण नेपालीले युक्रेन छोडेको जानकारी दिए ।  उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विद्यार्थी चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए । 

पश्चिमी मुलुकले रुससँगको हवाइ उडानमा प्रतिबन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीमा समेत संसय थपिएको छ । स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिए ।



एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीलाई खाना बस्ने र परिचयपत्रलगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जनाकारी दिए । उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीले आफ्नो संजाल बनाएर एक अर्कालाई सहयोग गरेको बताए । 

गैरआवासीय नेपाली संघका अध्यक्ष पन्त युद्ध पीडितको उद्धारका लागि सोमबारदेखि पोल्याण्डको सीमा क्षेत्रमा आफैँ खटिएका छन् ।     



  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार ७:२९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया