रुसले युक्रेनमाथिको हमला सातौँ दिन पनि जारी राखेको छ । अहिले पनि युक्रेनका विभिन्न क्षेत्रमा रुसी र युक्रेनी सेनाबीच भिडन्त भइरहेको छ ।
पछिल्लो विवरणअनुसार रुसी सेनाहरूले युक्रेनको दक्षिणी शहर खेअरसन पनि कब्जा गरेका छन् । रुसी सेनाले लगातार हमला जारी राखेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लडाइँ आफ्नो देश एक्लैले जित्न नसक्ने बताएका छन् ।
कडा सुरक्षा व्यवस्था भएको एउटा भवनबाट पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्रपति जेलेन्स्कीले उडान प्रतिबन्धित क्षेत्र घोषणा नगर्ने अडानबारे पुनर्विचार गर्न उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोलाई आग्रहसमेत गरे ।
‘तपाईँहरूलाई थाहा छ आकाशमा लडाकु विमानहरू उडिरहँदा र बमबारी भइरहँदा वार्तामा बस्न सकिँदैन। हो हामी वार्ताको पक्षमा छौँ, तर त्यसका लागि कम्तीमा मानिसहरूमाथि भइरहेका बमबारी रोकिनै पर्छ,’ उनले भनेका छन् ।
रुससँग लड्न युक्रेनलाई उचाल्न अमेरिकामाथि आरोप लाग्दै आएको छ । तर, अमेरिकाले भने अहिलेसम्म पनि युक्रेनलाई पर्याप्त सहायता गर्न सकेको छैन । यसअघि धेरैले अमेरिकाले रुससँग लड्न युक्रेनमा आफ्नो सेना पठाउने अनुमान पनि गरेका थिए । तर, हमलाको सातौं पनि अमेरिकाले आफ्नो सेना युक्रेन पठाएको छैन ।
राष्ट्रपति जो बाइडेनले पनि युक्रेनमा रुससँग लड्न आफ्नो सेना नपठाउने बताएका छन् । मंगलबार राति अमेरिकी संसदलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
युक्रेनमाथि रुसले हमला गरेको सात दिन बित्दा अमेरिकाले ३५ मिलियन डलर बराबरको हतियार सहयोग गरेको छ । साथै, उसले योबीचमा युक्रेनलाई मानवीय सहायताका लागि ४.४ करोड डलर बराबरको मानवीय सहायता गरेको छ ।
अमेरिकाले एक साताको अवधिमा युक्रेनलाई सहयोग पुर्याउन रुसी बैंकहरू ग्लोबल स्विफ्ट सन्देश प्रणालीबाट हटाउनका साथै रुसी केन्द्रीय बैंकलाई रुबल बचत गर्नबाट रोकेको छ ।
अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसी विमान र रुसी सञ्चालित विमानका लागि बन्द गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।