मोबाइल एपबाटै सेयर कारोबार हुने व्यवस्था मिलाउन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन् ।

बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाए पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका हुन् ।

पुँजीबजार सम्बन्धि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले पुँजीबजारमा देखिएका समस्या समाधान गर्नको लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताए । उनले पछिल्लो समय सेयर बजारमा देखिएका समस्या समाधानको लागि पुँजीबजार नियमनकारी निकायका नेतृत्वको काम कारबाहीले देखिने दाबी गरे ।

मन्त्री शर्माले भने,‘त्यो सबैको परिमाण के गरियो भने एउटा सक्षम योग्य नेतृत्व चयन गरियो । नियमनकारी संस्थाको नेतृत्वले सेयर बजारमा भएका समस्याको समाधानमा उहाँहरूको काम कारबाहीबाट देखिने छ ।’

कार्यक्रमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताए । उनले पुँजीबजार सुधारको लागि केही कानुनमा सुधार गर्नु पर्ने बताए । अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नुपर्ने देखिएकाले बोर्ड लागि परेको जानकारी दिए ।

उनले भने, ‘सेयर बजारमा देखिएका समस्या समाधान गर्न बोर्डले काम अगाडि बढाएको छ । सुधारको लागि कानुन पर्छ । त्यसमा ’टिएमएस प्रणाली’सुधार गर्नु पर्ने देखिएको छ । त्यो सुधार गर्न बोर्ड लागि रहेको छ ।’



त्यस्तै कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्ज(नेप्से) प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पुँजीबजार सम्बन्धी ऐन समय सापेक्ष नभएको बताए । उनले पुँजीबजार सुधारको लागि अहिले भएका नीतिगत व्यवस्थालाई संशोधन गर्नु पर्ने आवश्यक रहेको बताए । कार्कीले सेयर बजारलाई प्रभावकारी बनाउनको लागि प्राविधिको अध्ययन गर्नु पर्ने जानकारी दिए ।

उनले भने, ‘कसरी प्रभावकारी रुपमा हाम्रो मन्त्रालय र सरकारको स्पेश बढाउन सकिन्छ भनेर विभिन्न पक्षहरुसँग छलफल भइरहेको छ । केही भएका प्रावाधनहरु र नेप्सेमा जडान गरिएका प्रविधिहरुको अध्ययन गर्ने काम भएको छ । मन्त्रीज्युको निर्देशनअनुसार पुँजीबजार सम्बन्धी नीतिगत सुधारको लागि पुँजीबजार ऐन २०६३ रहेको छ । यो ऐन समय सापेक्ष छैन । त्यसलाई पनि हामीले सुधार गर्नुपर्छ ।’



त्यस्तै, अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुस्करले पुँजीबजार आन्तरिक मात्र नभएर अन्तराष्ट्रिय बजारमा प्रभावकारी देखाउनु पर्ने बताए । उनले अर्थ मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको काम गर्ने प्रणालीलाई अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग सहकार्य गर्ने काम अगाडि बढाएको जानकारी दिए ।

उनले भने, ‘शेयर बजार भनेको आन्तरिक रुपमा भन्दा पनि अन्तर्राष्ट्रिय एपिएसबाट लिङकेजबाट प्रभावित हुन्छ । हाम्रा कारोबारहरु अन्तर्राष्ट्रिय र आन्तरिक रुपमा कम्फटेवल हुनु पर्छ । त्यसको लागि नेप्से र सेवनका काम कारबाहीको पद्धतिलाई पनि विभिन्न छिमेकी मुलुकहरुसँग हाम्रा जस्तै अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग पनि आवद्धता बढाउने काम अगाडि बढेको छ । अटोमेसनका कुरामा पुँजी व्यवस्थापनको लागि अर्थमन्त्रालयले काम गरिरहेको छ ।’

कार्यक्रममा पुँजीबजारलाई नियमनकारी निकायका दुवै प्रमुखले विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्नू पर्ने जोड दिए । अर्थमन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिइओलाई मोबाइल एपबाटै सेयर कारोबार हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन् भने पुँजीबजार नबुझिकन कारोबार गर्नेलाई शिक्षित गराउनु पर्ने बताए ।

  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १५:५१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया