निर्वाचनताका कैलाली क्षेत्र नम्बर ५ देशभर चर्चामा हुन्छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा २०७० सालको संविधानसभा निर्वाचनमा चुनाव जितेको (क्षेत्र नं. ६ हालको ५) र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति देउवाको उत्तराधिकारीको रूपमा उनकै पत्नी डा. आरजु देउवा राणा सोही क्षेत्रबाट चुनाव लडेर पराजित भएका कारण पनि कैलाली देशभरी नै चर्चामा छ ।
अझै कांग्रेसजनका लागि विशेष चर्चामा हुन्छ, यो क्षेत्र । आरजु पराजित भएपछि कांग्रेसभित्र खटपट सुरु भएको हो । कांग्रेसमा आरजु हार्नुको कारण खोज्दा जाँदा पूर्वसभासद पुष्करनाथ ओझा कारबाहीमा परे ।
अहिले पुस्करनाथ मौन बसेका छन् । उनलाई प्रश्न गर्दा उनी आफू हाल कुनै पनि पार्टीमा नरहेको बताउने गरेका छन् । २०७४ को निर्वाचनमा आरजु पराजित हुनुको कारण पुष्करनाथ पनि एक भएको कांग्रेसको केन्द्रमा रिपोर्ट पुगेपछि उनलाई पार्टीले कारबाही गरेको थियो ।
पुष्करनाथले हाल कुनै पनि पार्टीमा नरहेको बताए । ‘अन्य कुरा भए भन्नुहोस्’, आक्रोशित हुँदै उनले भने, ‘राजनीति कुरा नगर्नुहोस् । म कुनै पार्टीमा छैन् ।’ पुष्करनाथ ओझा निकट व्यक्तिहरू अहिले पनि रुष्ट नै छन् ।
आरजु कैलाली क्षेत्र नम्बर ५ मा करिब पाँच हजार मत अन्तरले ७४ को निर्वाचनमा पराजित भएकी थिइन् । तत्कालीन वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग उनी ४ हजार ८८० मत अन्तरले पराजित भएकी थिइन् ।
एमालेका रानाले २७ हजार २०२ मत प्राप्त गरेका थिए भने लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार कांग्रेस नेतृ आरजुले २२ हजार ३२२ मत मात्र प्राप्त गरेकी थिइन् ।
फेरि १४ औँ महाधिवेशन अन्तर्गतको कैलाली अधिवेशनले यो क्षेत्रका कांग्रेस नेताहरूबीच अझै दरार बढेको छ । पार्टी सभापति देउवानिकट नै दुईवटा गुट खडा भएपछि दरार बढेको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिले सभापति पदका आकांक्षी नारायणदत्त भट्टको प्यानललाई आधिकारिकता दिएको सर्वत्र चर्चामा छ । आधिकारिकता हुँदाहुँदै पनि आइतबार भएको मतदानमा पार्टी सभापतिका उम्मेदवार भट्ट पछाडि परे ।
केन्द्रकै निर्देशनअनुसार भट्ट नेतृत्वको प्यानल चुनावी मैदानमा होमिएको थियो । आइतबार भएको मतदानमा भट्टले १ हजार ७२ मत पाए । पहिलो अर्को उम्मेदवार प्रकाश बम भए । उनले १ हजार १६९ मत प्राप्त गरे ।
२ हजार ५७२ जना मतदाता रहेको जिल्लामा २ हजार ५८६ मत खसेको थियो । यस्तै, सभापतिका अर्को प्रत्यासी रामबहादुर कलेलले १९७ मत पाएका छन् । कुल मतमध्ये १०४ मत बदर भएको थियो ।
‘केन्द्रको निर्णयले जिल्लामा पार्टीलाई थप कमजोर बनाएको छ । आधिकारिक उम्मेदवार भनेपछि नचाहेर भए पनि समर्थन गर्नुपरिरहेको छ । यसले मलाई पनि असर पारेको छ’, एक जना केन्द्रीय सदस्यले भने ।
५१ प्रतिशत मत कुनै उम्मेदवारले नपाएपछि पुनः बिहीबार धनगढीमा सभापतिका लागि निर्वाचन हुँदै छ । भट्टको पक्षमा कांग्रेस कैलालीका केन्द्रीय सदस्यहरूको समर्थन रहेको छ ।
नेतृ आरजुको स्वकीय सचिव प्रकाश देउवा हप्ता दिनदेखि धनगढीमै छन् । भट्टलाई जिताउनका लागि कांग्रेस नेता एनपी साउँद पनि जोडतोडका साथ लागि परेको जनाएको छ ।
‘केन्द्रबाट जसरी पनि भट्टलाई जिताउन दबाब छ’, भट्ट पक्षका एक नेताले भने, ‘दोस्रो चरणको निर्वाचनमा जित सुनिश्चित जस्तै छ ।’
बमको पक्षमा पार्टीका वर्तमान प्रदेश महामन्त्री नरनारायण शाम (मनु) छन् । भर्खरै सम्पन्न प्रदेश अधिवेशनमा नरनारायण शाह सभापति पदका आकांक्षी थिए ।
तर, आरजुकै अनिच्छाका कारण सभापति पदमा डोटीका नेता वीरबहादुर बलायरलाई उम्मेदवार बनाइ पठाएका थिए । नरनारायण आरजुकै कारण प्रदेश महामन्त्री पदमा सीमित हुनुपरेको थियो ।
‘पार्टीभित्र व्यक्तिवाद हाबी भयो । केन्द्रले जसलाई आधिकारिकता दिए पनि पार्टीका कार्यकर्ताले सही, असल र पार्टीमा लामो समयदेखि योगदान दिएका व्यक्तिलाई नेतृत्व दिनुपर्छ’, प्रदेश महामन्त्री नरनारायणले भने ।
केन्द्रले भट्टलाई आधिकारिक उम्मेदवार बनाएपछि जिल्लामा पार्टीभित्र असन्तुष्टि बढ्दो छ । कैलाली कांग्रेसको आन्तरिक निर्वाचनको असर आगामी स्थानीय, प्रदेश र संघमा पर्ने नेता-कार्यकर्ताहरू बताउने गरेका छन् ।
पहिलो भएको निर्वाचनमा तेस्रो भएका रामबहादुर कलेल समूहले वमलाई समर्थन रहेन पत्रकार सम्मेलन गरी जानकारी दिइसकेको छ । केन्द्रीय नेतृत्वको तानाशाही प्रवृत्तिका कारण आफ्ना समर्थन वमलाई रहेको कलेल पक्षका नता वीरबहादुर हमालले बताए ।
‘१० वर्षसम्म पार्टी सञ्चालन गरेका व्यक्तिलाई नै बाइपास गरेर भएको केन्द्रको व्यवहारलाई ताड्न वमलाई निःशर्त समर्थन रहनेछ’, हमालले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।