विप्लवको सक्रियता : एमसिसी विरोध नेताहरू झलनाथ, नारायकाजी र बिजुक्छेपछि भीम रावलसँग भेटवार्ता

अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले राजनीतिक सक्रियता बढाएका छन् ।

सरकारले संसदबाट व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौतालाई पारित गरेपछि त्यसको विरोधमा रहेका नेताहरूसँगको भेटवार्तालाई उनले तीव्र पारेका हुन् । सरकारले गत आइतबार एमसिसीलाई संसदबाट पारित गरेको थियो ।

त्यसपछि विप्लवले एमसिसीको विरोधमा बोलेका नेताहरूसँग आफ्नो छलफललाई केन्द्रित गरेका छन् ।

माओवादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठ पक्षले र एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल, नेकपा एमालेका नेता भीम रावलले एमसिसीको विरोध गरिरहेका छन् ।

उनले श्रेष्ठ, खनाल र एमसिसी सम्झौताको संसदमा चर्को विरोध गर्दै आएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारयणमान विजुक्छेसँग भेटवार्ता र छलफल गरेका छन् । त्यस्तै, आज उनले एमाले नेता रावलसँग पनि भेटवार्ता गरेका छन् ।

विप्लवले एमसिसी विरोधी नेतालाई आफूहरूको समूहले आयोजना गर्न लागेको एमसिसीविरुद्धको सभामा सहभागी हुन आग्रह गरेका छन् ।



नेता रावलले ट्वीटमार्फत 'विप्लव' र नेता खड्ग विश्वकर्मासँग टोखास्थित आफ्नो घरमा भेटवार्ता भएको बताए ।

उनले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिन आग्रह गरेको नेता रावलले जनाए ।



देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने विचार राखेको उनले बताए ।

एमसिसी अनुमोदनको विरोधमा कम्युनिस्ट पार्टी र मोर्चाले शुक्रबार  खुल्ला मञ्चमा हुने जनाइएको छ । सभालाई खनाल, श्रेष्ठ र रावलले पनि सम्बोधन गर्ने बताइएको छ ।

जनसभाको प्रमुख वक्तामा विप्लवसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू छन् ।

एमसिसीको विरोधमा साना दलहरूले शुक्रबारदेखि निरन्तर ६ चैतसम्म विरोधका कार्यक्रम तय गरेका छन् ।

  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १४:४५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया