एमसिसी तरङ्ग : बलियो कांग्रेस, कमजोर माओवादी

बहुचर्चित अमेरिकी सहायता परियोजना (एमसिसी) संसदबाट अनुमोदन भएसँगै राजनीतिक वृत्तमा यसका नाफा-घाटाका हिसाबकिताब सुरु भएका छन् । विशेषगरी एमसिसी यथास्थितिमा पारित हुनु हुँदैन भनेर चर्को तर्क राख्दै आएको माओवादी केन्द्रमा उतारचढाव देखिन थालेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' यतिबेला असन्तुष्ट नेताहरूलाई फकाइरहेका छन् । बल्लतल्ल बनेको पाँच दलीय गठबन्धन धर्मराउँदै गर्दा अध्यक्ष प्रचण्ड एकाएक व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदनको पक्षमा उभिएपछि नेताहरू असन्तुष्ट बनेका थिए ।

उता, सत्तापक्ष र प्रतिपक्षी नेताहरूसँग निरन्तर छलफल गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन जोगाएरै एमसिसी पास गराउन सफल भए । १४ औं महाधिवेशनबाटै तितरवितर भएको नेपाली कांग्रेसकै शीर्षस्थ नेताहरूबीच एकमत भएका छन् ।

बलियो कांग्रेस

सत्ता साझेदार अन्य दलहरूमा एमसिसीका कारण विवाद र झमेला निम्तियो । एमसिसी अनुमोदन भएपछि उनीहरू ती झमेलालाई टार्नका लागि प्रयास गरिरहेका छन् । तर, सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसलाई भने यो पार्टीलाई एकताबद्ध बनाउने नयाँ अवसर मिल्यो ।

कांग्रेसले केही समयअघि मात्र पार्टीको १४ औं महाधिवेशन सक्यो । चिराचिरामा विभाजित भएर उम्मेदवारी घोषणा सुरु गरेका नेताहरू अन्तिमसम्म आइपुग्दा दुई खेमाजस्तो देखिाएका थिए ।



कांग्रेस महाधिवेशनमा सभापतिका उम्मेदवार देउवासँग प्रतिस्पर्धा गरेका नेताहरू नै एमसिसी पारित गराउका लागि निर्णयक भूमिकामा देखा परे । डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्री बनेका गगन थापाले देउवालाई यो पटक ठूलो सहयोग गरे ।

अर्का नेता डा. मीनेन्द्र रिजाल पनि एमसिसीको विषयमा मत विभाजित भएसँगै प्रतिरक्षामा उत्रिएका थिए । त्यस्तै, कोइराला समूहकै नेता डा. रामशरण महतले एमसिसीको पक्षमा वकालत गरे । उनले एमसिसीका बारेमा सांसदहरूलाई प्रशिक्षणसम्मका काममा सहयोग गरे ।



गगनले त एमसिसी संसदमा अनुमोदन हुँदैगर्दा उठेका सवालहरूको जवाफ एक-एक गरी भाषणमार्फत नै दिए । एमालेका नेता भीम रावलले एमसिसीको समर्थन गर्नेहरू देशद्रोही गद्धार भनेपछि ‘राष्ट्रघात भएको भए मलाई मुण्डन गरेर थानकोट कटाउनू’ सम्म भन्न भ्याए ।

पार्टी विभाजनकै अवस्थामा त थिएन । तर, कांग्रेसभित्र एकमत पनि थिएन । तर, एमसिसी परियोजना पारित गराउन देउवाले सुझबुझपूर्ण ढंगबाट चालेको कदमले पार्टी एक हुन मद्दत गरेको नेताहरू तर्क गर्छन् ।

कमजोर माओवादी

संसदमा एमसिसी अनुमोदन हुने दिन पनि माओवादीका कार्यकर्ताहरू शीर्ष नेतृत्वकै निर्देशनमा सडकमा पुगेका थिए । तर, एकाएक नेतृत्वले ‘व्याख्यात्मक घोषणा’सहित पारित गर्ने निर्णय गरेपछि उनीहरू सडकबाटै आन्दोलन छाड्न बाध्य भएका थिए ।

एमसिसी यथास्थितिमा पारित हुन नहुने चर्को आवाज थियो, माओवादीभित्र । अझ, गठबन्धन जोगाउनकै लागि एमसिसीको पक्षमा उभिएपछि पार्टीभित्रबाटै संघर्ष सुरु भएका छन् । एमसिसी ‘व्याख्यात्मक घोषणा’लाई भ्रमका रूपमा लिँदै नारायाणकाजी श्रेष्ठसहितका नेताहरु यसको विरोधमा अझै उत्रिएका छन् ।

जसको कारण पार्टी फुट हुनसक्ने समेतका चर्चाहरू सुरु भएका छन् । एमसिसी पारित भएपछि सञ्चारकर्मीमाझ गएर ‘वामदेव गौतम र प्रेम सुवाल’लाई तुलना गर्दै बाटो परिवर्तन नगर्न प्रचण्डले चुनौती दिएपछि झनै असन्तुष्टि चुलिएको छ ।

‘भुसमा आगो’ सल्किएझैं माओवादी नेताहरूमा असन्तुष्टि भित्रभित्र बढ्दै गएको प्रष्टै देखिएको छ ।

यसै पनि माओवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिन सकेको छैन । पदाधिकारीमा आकांक्षी बढ्दा प्रचण्डले अहिलेसम्म पनि त्यसलाई टुंग्याउन सकेका छैनन् ।

व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर गठबन्धन जोगाउन, चुनावमा तालमेलको आधार तय गर्न, नेकपा एमालेलाई सत्तारोहणबाट रोक्न सफल र एमसीसीजस्तो पेचिलो मुद्दामा पार्टीलाई सेफल्याण्ड गर्न आफू सफल भएको प्रचण्डको निष्कर्ष भएको बुझिन्छ ।

तर, उनलाई आफ्नै नजिकका नेताहरु चिढिँदै गएपछि भने एकपछि अर्को तनाव खेप्नुपरेको छ ।

  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १६:२७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया