नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत धनुषा जिल्ला अधिवेशनको लागि बिहीबारबाट चुनावी प्रक्रिया सुरु भएको छ ।
कांग्रेस धनुषा हाक्ने गरी जिल्लामा ३ जना प्रभावशाली नेताले सभापतिमा उम्मेदवारी दिएका छन् । सभापति पदका लागि ३ जनाले मनोनयन दर्ता गराएका हुन् । संस्थापन पक्षबाट एक जना र संस्थापन इतरबाट २ जनाले उम्मेदवारी दिएका छन् ।
संस्थापन पक्षबाट वर्तमान जिल्ला उपसभापतिसमेत रहेका सन्तोष यादवले सभापति पदमा मनोनयन दर्ता गराएका छन् भने संस्थापन इतर समूहबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका मेयरसमेत रहेका योगेन्द्र पजियार र संविधानसभा सदस्यसमेत रहेका दिनेश प्रसैला यादवले उम्मेदवारी दर्ता गराएका छन् । पजियार विमलेन्द्र निधि गुटका हुन भने प्रसैला शेखर कोइराला गुटका छन् ।
त्यस्तै, जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले उम्मेदवारी दिएका छन् ।
सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र मो. साकिर राइनलगायत ६ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लामा नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको छ ।
निर्वाचमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन् । यस्तै ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।