स्वास्थ्यकर्मीकाे लापरवाहीले गर्भवती महिलाको मृत्यु भएकाे भन्दै आफन्तले गरे अस्पताल तोडफोड
फाइल फाेटाे

जिल्ला अस्पताल उदयपुर गाईघाट तनावग्रस्त बन्न पुगेको छ । अस्पतालमा शुक्रबार बिहान  गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

अस्पतालमा केही दिनअघि सुत्केरी गराउन ल्याएकी उदयपुरगढी गाउँपालिका- ६ नेपालटारकी ३२ वर्षीया गर्भवती महिला सीता राउत कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । 

तर, मृतकका आफन्तले भने स्वास्थ्यकर्मीको लापरबाहीले सीताकाे मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका हुन् । 

गर्भवती सीताकाे उपचार अभावमा मृत्यु भएको उनको आफन्तले आरोप लगाएका छन् । गत १७ फागुनमा नै सुत्केरी गराउन जिल्ला अस्पताल गाईघाट ल्याएकी उनकाे उपचार नपाएरै मृत्यु भएको श्रीमान् अर्जुन कार्कीले बताए ।

जिल्ला अस्पतालका डाक्टरहरूले १७ फागुनदेखि नै नर्मल डेलिभरी हुन्छ भन्दाभन्दै राखेर श्रीमतीको उपचार नै नपाएर मृत्यु भएको श्रीमान कार्कीले आरोप लगाए । 

‘नर्मल हुन्छ किन बाहिर लैजान्छौ भनेर राखे । तर, अहिले श्रीमतीको मृत्यु भयाे’, कार्कीले भने।



पीडितका आफन्तले अस्पतालको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका हुन् । अस्पताल तोडफोडपछि अस्पतालबाट दिइँदै आएको सम्पूर्ण सेवा बन्द भएको छ ।

ओपिडी चलिरहेको समयमा एक्कासि तोडफोड हुन गएपछि अस्पताल पुगेका सर्वसाधारणकाे भागाभाग भएको छ । 



अस्पतालका चिकित्सकले भने गर्भवतीको अवस्था खराब रहेकाले तत्काल अप्रेसन गर्न आग्रह गर्दै मृतकका आफन्तले नमानेका कारण सीताकाे मृत्यु हुन पुगेकाे बताउँछन् । 

  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १२:४३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया