नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टहरूले जनादेशको कदर गर्न नसक्दा कांग्रेसले देश चलाउने जिम्मेवारी पाएको बताएका छन् । कास्कीको मादी गाउँपालिकामा शुक्रबार आयोजित भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले कम्युनिस्टहरूले जनादेशको कदर गर्न नसको बताएका हुन् ।
'एउटाले संसद विघटन गरे, अर्को रोइ कराइ गर्दै लौन न प्रभु सरकार चलाइदिनुपर्यो भनेर आएपछि कांग्रेसले सम्हाल्नै पर्यो,' उनले भने ।
उनले कांग्रेसलाई देखाइदियौँ भनेर आएका कम्युनिस्टहरूले के गरे भन्दै प्रश्नसमेत गरे । उनले ५० वर्षसम्म कांग्रेस फर्केर आउँदैन भन्नेहरू अहिले सत्ता गठबन्धनमै रहेको सुनाए ।
उनले संसदको अवरोध खुलाउका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र आफू पटक-पटक एमाले अध्यक्ष केपी ओलीको निवासमा पुगेर आग्रह गरेको बताए ।
'संसद अवरुद्ध छ, हामी संसद खुलाउन चाहान्छौँ । त्यसैले हामी हात जोड्दै बालकोट पुगेका हो । हात जोड्ने पालो हाम्रो हो । हामी एमाले र केपी ओली होइनौँ । जिम्मा पाएकाले निहुरिन पनि जान्नुपर्छ,' उनले भने ।
उनले आफूहरूको आग्रहलाई एमाले अध्यक्ष ओलीले बेवास्ता गरेको बताए । उनले संसदको अवरोध खुलाउनेबारेमा सत्ता गठबन्धनमा छलफल भइरहेको पनि सुनाए । उनले स्थानीय तहको निर्वाचनको मिति तलमाथि नहुने दाबी गरे ।
महामन्त्री थापाले सत्ता गठबन्धन आवश्यकताले बनेको भन्दै यसको काम निर्वाचन गराउने रहेको बताए । प्रचण्ड-माधव समूहसँग चुनावी गठबन्धनबारे अहिले कुनै निर्णय नभएको उनको भनाइ छ । उनले भने, 'गठबन्धनमा बस्नासाथ चुनावमा मिल्छौँ कि मिल्दैनौँ अर्कै विषय हो ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।