सहुलियतपूर्ण ऋण दिँदै बागमती प्रदेश सरकार

आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशले सहुलियतपूर्ण ऋण लगानी कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ को कारण व्यवसायमा आएको आर्थिक मन्दीलाई न्यूनीकरण गर्ने उद्देश्यले सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम आयोजना बनाइएको हाे ।

उत्पादन तथा रोजगारी सिर्जनाको लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण दिएर कृषि, उद्योग, व्यापार व्यवसायसम्बन्धी क्षेत्रहरूको पुनरुत्थान गर्ने मन्त्रालयले लक्ष्य लिएको बताइएको छ ।

५ वर्ष अवधिको लागि कृषि विकास बैंकमार्फत् अधिकतम १० लाख रुपैँयासम्म र साना किसान विकास लघुवित्तीय संस्था लिमिटेडमार्फत् अधिकतम ५ लाख रुपैँयासम्म ऋण उपलब्ध गराउन बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट २ अर्ब रकम ऋण लगानीको लागि विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशका सचिव धनिराम शर्माले बताए । 

शर्माले भने, ‘यस कार्यक्रमले कृषि, पशुपंक्षी, मत्स्य क्षेत्रको उत्पादन वृद्धि गर्नुको साथै प्रदेशमा रोजगारी सिर्जना गर्ने, वन तथा वातावरण र पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने, बेरोजगार युवालाई रोजगारीमा आवद्ध गर्ने, फोहोरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लगायतका लक्ष्य राखेर सहुलियतपूर्ण ऋण लगानी गर्न लागिएको हो।’ 

‘सरकारले अनुदानमा रकम उपलब्ध गराउन नसकेपनि थोरै ब्याजदरको ऋणले व्यवसायमा सहायता हुने अपेक्षा गरिएको छ’, उनले थपे । 



मन्त्रालयका अनुसार ३ प्रतिशत ब्याजदरमा ऋण पाइनेछ ।

आव ०७६/०७७ देखि सुरुवात गरिएको सहुलियतपूर्ण ऋण लगानी कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिइएको हो ।



  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १७:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया