सुर्खेतमा व्यापारी मृत्यु प्रकरण : आफन्त आन्दोलित, प्रहरी विटमा तोडफोड

सुर्खेतमा कालीकोटका एक व्यापारीको मृत्यु भएपछि उनका आफन्तले आन्दोलित भएका छन् । प्रहरीको कुटाइबाट युवकको मृत्यु भएको भन्दै घटनामा सम्लग्न प्रहरीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तहरू आन्दोलित भएका हुन् ।

शुक्रबार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका-३ का ३५ वर्षका कृष्ण हमालको प्रहरीको कुटाइबाट घाइते भएको आफन्तको भनाइ छ ।

आफन्तका अनुसार घाइते हमाललाई शनिबार बिहान साढे १० बजे सुर्खेत हस्पिटल प्रालिमा ल्याइएको थियो । तर, अस्पताल नपुग्दै उनको बाटोमै मृत्यु भइसकेको अस्पतालले घोषणा गरेको थियो । 

हमाल बाँकेको नेपालगञ्जदेखि सुर्खेततर्फ आउँदै गरेको भे१ क ९२२ नम्बरको गाडीमा सवार थिए । फागुन २० गते शुक्रबार राति ११ बजेतिर सुर्खेत आउने क्रममा सुब्बाकुना प्रहरीले कुटपिट गरेपछि गम्भीर घाइते भएका आफन्तले बताएका छन् । हमाल कालीकोटमा कपडा पसल गर्दै आएका थिए ।  

मृतकका काका कलमबहादुर हमालका अनुसार गाडीका दुई जना स्टाफलाई प्रहरीले कुटेपछि यसो नगर्न हमालले आग्रह गरेका थिए । यसो नगर्न भनेपछि उनीमाथि नै प्रहरी जाइ लागेको कमलबहादुरले बताए । ‘प्रहरीले तल्लो पेट र अण्डकोषमा प्रहार गरेको थियो’ उनले भने । 

प्रहरीको गैरजिम्मेवार र प्रशासनसहित प्रहरीले घटनाप्रति चासो नदेखाएको भन्दै मृतकका आफन्तले सुर्खेतको वीरेन्द्रनगरमा सडकमा टायर बालेर आन्दोलन गरेका छन् । उनीहरुले वीरेन्द्रचोकमा रहेको प्रहरी विटसमेत तोडफोड गरेका छन् ।



मृतकका आफन्त आन्दोलित बनेपछि यता जिल्ला प्रशासन कार्यालयले सुर्खेतले घटनाको छानबिनका छानबिन समिति गठन गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । छानबिन समितिलाई तीन दिन भित्र घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको रिजालले बताए ।



मृत्युको कारणबारे अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १९:३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया