मंसिरअघि नै संसदीय निर्वाचन गराउन देउवालाई कांग्रेस नेताको दबाब
फाइल तस्वीर

नेपाली कांग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई मंसिरअघि नै संघीय संसदको निर्वाचन गर्नका लागि सुझाएका छन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेको अवस्था भएका कारणले मंसिरअघि नै निर्वाचनमा जानेगरी तयारी थाल्न प्रधानमन्त्रीसमक्ष नेताहरूले सुझाव दिएका हुन् । 

शनिबार आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापाले संघीय चुनाव चाँडो हुनसक्ने संकेत गरेका छन् । जसका लागि प्रधानमन्त्री देउवालाई आफूहरूले सुझाव दिएको पनि उनीहरूको भनाइ छ । 

पछिल्लो समय प्रधानमन्त्री देउवाको बलियो सहयात्रीका रूपमा देखा परेका छन्, कांग्रेस महामन्त्री थापा । महाधिवेशनमा सभापति पद छाडेका पौडेल पनि देउवालाई सरकार संचालनमा नजिकबाट सघाउन थालेका छन् । 

जसले कांग्रेसभित्र नेताहरूबीच एकमत हुँदै आएको चर्चा पनि छ । त्यसो त, देउवालाई नेता पौडेल र महामन्त्री थापाले दिएको जस्तै सुझावका आधारमा मंसिरअघि नै संघीय निर्वाचन होला ? भन्ने चासोको विषय छ । 

कांग्रेस एक नेताका अनुसार एमसिसी संसदबाट पारित गराउन कांग्रेसभित्र नेताहरू एकमत भएपछि देउवा पनि युवा नेताहरूको सुझावलाई लिएर अघि बढ्न थालेका छन् । 



गठबन्धन जोगिनेगरी महामन्त्री थापाले ल्याएको ‘व्याख्यात्मक घोषणा’ को आइडियाबाट देउवा प्रभावित भएका छन् । पार्टी महाधिवेशनमा शेखर कोइरालाको क्याम्बाटबाट महामन्त्री बनेका थापालाई नै परिचालन गराएर देउवाले एमसिसी अनुमोदनमा ठूलो राहत पाएका थिए । 

अहिले पनि प्रतिपक्षीले संसदमा अवरोध गरिरहेको छ । एकातिर, गठबन्धन चुनावसम्मै जोगिन्छ भनेर सत्तारुढ कम्युनिस्ट घटकहरूले बताइरहँदा कांग्रेसका नेताहरू भने एकलै चुनावमा लड्नपर्ने बताउँदै आएका छन । 



थापाले भने, ‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउने हो । त्यसपछि आम चुनाव हुन्छ । एमालेले संसद चल्न दिएन भने मंसिरअघि नै चुनाव हुन सक्छ । हामी निर्वाचनमा जाने हो । शान्दार ढंगले बहुमत ल्याएर पाँच वर्ष मुलुक चलाउने हो ।’

कांग्रेस यसअघि पनि चाँडोभन्दा चाँडो निर्वाचनमा गएर जनमतको परीक्षण हुनुपर्नेमा थियो । नेताहरुले पनि सोही अनुसार दबाब बढाएका छन् ।

  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १९:५९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया