मेयरमा विजयी भए एक रुपैयाँ लिन्नँ, उपमहानगरपालिकाको गाडी पनि चढ्दैन : गोपाल हमाल

सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । चुनावको मिति घोषणासँगै राजनीतिक दलहरूले आन्तरिक तयारी थालिसकेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा कैलालीको धनगढी उपमहानगरपालिकामा पनि धेरैको नजर छ ।

यसपालि पनि व्यवसायी गोपाल हमालले उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि धनगढीमाथि नजर रहेको हो । २०७४ को चुनावमा हमालले कांग्रेसबाट मेयरमा निर्वाचित भएका नृपबहादुर वडलाई कडा टक्कर दिएकाले पनि धनगढीमाथि चासो बढेको छ ।  

साझा विवेकशील पार्टीबाट राजीनामा दिएर स्वतन्त्र पदबाट उम्मेदवारी घोषणा गरेका हमालले चुनावी अभियान थालिसकेका छन् । उनले छलफलदेखि सुझाव संकलन गर्न थालेका हुन् ।

हमालले २०७४ को निर्वाचनमा ११ हजार ५ सय २७ मत ल्याएका थिए । मेयरमा विजयी वडले १४ हजार ३ सय १४ मत प्राप्त गरेका थिए । विगतमा आफूलाई साथ दिनेहरूले चुनावमा स्वतन्त्र उठ्नका लागि अनुरोध गरेकाले आफूले पार्टी परित्याग गरेको पनि हमालको भनाइ छ ।

‘७४ सालको निर्वाचनमा मलाई सहयोग गर्नेहरूसँग छलफल गर्दा स्वतन्त्र भएर नै अगाडि बढ्न सुझाव आयो, स्वतन्त्रबाट अगाडि बढे पनि सकेसम्म १९ वडाबाट वडा अध्यक्षहरू उठ्ने छन्,’ उनले भने ।  



हमाल यसपालि चुनाव जित्नेमा ढुक्क रहेको दाबी पनि गर्छन् । ‘अघिल्लो निर्वाचनमा बिना तयारी अप्रत्याशित रूपमा चुनाव लड्दा पनि थोरै मतले हार्नु परेको थियो । बीचमा जता लागे पनि अब फेरि स्वतन्त्र रूपमा चुनाव लड्छु । सबैको सहयोग पाउनेमा ढुक्क छु,’ उनले भने ।

हमालले अघिल्लोपटक निर्वाचन हार्नुको कारण चुनाव चिन्ह ढिलो पाउनु पनि रहेको औंल्याए । उनले मेयर भएर अन्य राजनीतिक फाइदाभन्दा पनि धनगढीलाई विकसित शहर बनाउने आफ्नो सपना रहेको बताए ।



‘आफूमा भएको ज्ञान सीपलाई उपयोग गरेर धनगढीलाई ‘धनगढी मोडल’का रूपमा विकास गर्ने मेरो सपना हो । अन्तिमपटक भए पनि धनगढीवासीले मलाई अवसर दिने छन्,’ हमालले भने ।

धनगढीको मेयरमा निर्वाचित भएमा राज्यबाट पाइने सेवासुविधा समेत नलिने उनले घोषणा गरिसकेका छन् । ‘मेयरमा मेरो जित भएपछि म धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ पनि लिन्नँ, धनगढी उपमहानगरपालिकाको गाडी पनि चढ्दैन । मेयरले पाउने कुनै लाभ लिँदैन । निःस्वार्थ रूपमा काम गर्छु,’ हमालले भने । 

विकासका लागि समाजमा परेको आफ्नो छाप नै निर्वाचनमा मत पाउने बलियो आधार रहेको उनी दाबी गर्छन् । हमाल धनगढीमा दिनेश एफएम, दिनेश कटेजलगायत स्थापित कम्पनीका सञ्चालक पनि हुन् ।   

धनगढी उपमहानगरपालिका–४ को वडाध्यक्षमा सिद्धराज पनेरु, वडा नम्बर ५ मा पमराज भट्ट ‘प्रभास’, वडा नम्बर १४ मा यम लामिछाने र वडा नम्बर १५ मा कमलबहादुर ढाटले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । 

  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार ९:१९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया