‘नयाँ भेरियन्ट जन्मिने जोखिम कायमै छ, स्वास्थ्य मापदण्ड अपनाउन छाड्नुहुन्न’

सरकारले कोभिड–१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । देशमा पछिल्ला हप्ताहरूमा कोभिड– १९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भइ मृत्यु हुनेको दरमा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए ।

उनले तीव्र रूपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमण दरमा कमी आएको उल्लेख गरे । अफ्रिकी देशहरूमा खोप अभियान कम सञ्चालन भएका कारण ती देशहरूबाट कोभिड–१९ को नयाँ–नयाँ भेरियन्टहरू जन्मिनसक्ने भएकाले अझैपनि संक्रमणको जोखिम नटरेको उनले बताए ।

आइतबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्रालयका सहायक प्रवक्ता अधिकारीले संक्रमण कम हुँदा सावधानी अपनाउन छाड्ने गर्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित पारिहाल्ने अवस्था रहेको बताए । विश्वभरको अवस्था र विगतको दृष्टान्त हेर्दा संक्रमण कम भएपनि अझैपनि संक्रमणको जोखिम धेरै रहेको उनले बताए । 

‘हामीकहाँ पछिल्ला हप्ताहरूको संक्रमण दर, अस्पताल भर्नाको दर, कोभिड १९ संक्रमित भएर मृत्यु भएको तथ्यांक, यि सबै कुराहरू हेर्दा तुलनात्मक रूपमा सहज हुँदै गएको भन्न सकिन्छ । कोभिड–१९ विरुद्धको खोप अभियान पनि तिव्र गतिमा अगाडी बढिरहेको, धेरै व्यक्तिहरूले खोप लगाउनुभएको, धेरै व्यक्तिहरू तेस्रो लहरमा कोभिड– १९ संक्रमण भएर रोग प्रतिरोधात्मक क्षमता आलै भएको अवस्थामा पनि रोग प्रतिरोधात्मक क्षमता समुदायस्तरमा धेरै भएर अलिकति सहज अवस्था आएको हुनसक्ने एउटा पाटोलाई हामीले लिनुपर्ने हुन्छ । अर्को, अहिले पनि केही देशमा संक्रमण उकालो लागेको जस्तो देखिन थालेको छ,’ उनले भने ।

आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम र संक्रमणबाट बच्नका लागि विगतमा गरिएजस्तै कडा रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिए । जनस्वास्थ्यको मापदण्डको पालना गर्नाले कोभिड–१९ को मात्रै नभई अन्य प्रकारको संक्रामक रोगहरूबाट समेत बच्न सकिने भएकाले मापदण्ड परिपालनामा निरन्तरता दिनुपर्ने सहायक प्रवक्ता अधिकारीले बताए । 

‘सर्वसाधारणले लिनुपर्ने भूमिका भनेको अहिलेको संक्रमण रोकथाम गर्न, भविष्यमा आउन सक्ने नयाँ संक्रमणको रोकथाम गर्न, फैलिन नदिन,संक्रमण आउन नदिन र अरु किसिमका कुनै पनि संक्रामक रोगहरू यही माध्यमबाट यस्तै तरिकाले फैलिने खालका छन् भने पनि त्यो फैलावट रोक्न संक्रामक रोगहरू रोकथाम गर्नलाई अहिले लिइराखेको सावधानीहरू जनस्वास्थ्यका मापदण्डहरूको सावधानी एकदमै बढी सान्दर्भिक र महत्वपूर्ण हुन्छ । यसलाई निरन्तरता दिनु । संक्रमण धेरै भएको बेला जुन कडाइका साथ, जुन एकदमै बढी संवेदनशीलताका साथ गथ्र्यौ । त्यो गर्न नसकिए पनि यो सबै मापदण्डहरूलाई हामीले भुल्न हुँदैन । व्यवहारमा ल्याइराख्नु पर्छ,’  उनले भने ।



सहायक प्रवक्ता अधिकारीले कोभिड–१९ को नयाँ भेरियन्ट आएको खण्डमा पनि खोप र जनस्वास्थ्यको मापदण्डले नै जोखिम कम गर्ने अवस्था रहेको बताए । उनले संक्रमण दर घटेसँगै मन्त्रालयले गर्ने सबै प्रकारका स्वास्थ्यसँग सम्बन्धित कामहरू पूर्णरूपमा सुचारु भएको पनि बताए ।   



  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार १३:३४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया