बाल अस्पतालको काम तत्‍काल थाल्न माग गर्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नगराईन नगरपालिका कमिटीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको छ । 

धनुषाको जटहीमा शहीद दुर्गानन्द झाको नाममा निर्माणाधिन बाल अस्पतालको काम अविलम्ब सुचारु गर्नुपर्ने माग गर्दै मुख्यमन्त्री राउतलाई ध्यानाकर्षण गराइएको हो ।  

आर्थिक वर्ष २०७७/७८ मा शहीद दुर्गानन्द झा स्मृति अस्पतालको निर्माण कार्यको ६० प्रतिशत काम गरिएको र त्यसपछि काम ठप्प भएकाले मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराइएको छ । 

लोसपाको नगराइन नगरपालिकाका अध्यक्ष नवलकिशोर झा नेतृत्वको टोलीले राउतलाई ज्ञापन पत्र बुझाएको छ ।

सामाजिक विकास मन्त्रालयले अस्पतालको आकस्मिक कक्ष तथा ल्याब ब्लक निर्माणका लागि १ करोड ७० लाख १६ हजार ७४६ रुपैयाँको अनुमानित लागत सहित बोलपत्र समेत आह्वान गरेको थियो । 

सोही बोलपत्रको आधारमा लागेको ठेक्का मार्फत ६० प्रतिशत काम सम्पन्न भइसकेको ज्ञापनपत्रमा उल्लेख छ । 



आर्थिक वर्ष २०७८/०७९को प्रदेशको निती तथा कार्यक्रममा अस्पताललाई ५० शैय्याको बाल अस्पतालको रुपमा विकास गर्ने उल्लेख रहे पनि त्यसअनुरुप बोलपत्र आह्वानको प्रक्रियासम्म सुरु हुन नसकेकोमा स्थानीय आक्रोशित भएको लोसपाका युवा नेता राजु चौधरीले बताए । 

अस्पतालको बाँकी निर्माण कार्य अविलम्ब सुरु नगरिए त्यहाँका स्थानीय आन्दोलित हुन सक्ने चेतावनीसमेत ज्ञापनपत्रमार्फत दिइएको छ ।   



ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले सो अस्पताल निर्माण कार्य पूरा गर्ने अभिभारा प्रदेश सरकारको रहेको र यसमा प्रदेश सरकार चुकेको स्वीकार गरे । उनले अस्पतालको निर्माण कार्य चाँडै सुरु गरिने प्रतिवद्धतासमेत व्यक्त गरे । 

मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउन लोसपा नगराइनको नगर अध्यक्ष झा सहित लोसपाका प्रदेशसभा सदस्य परमेश्वर साह, लोसपा नेता राजीव झा, राजु चौधरी, दिपक झा, रोहित चौधरीलगायतका नेता कार्यकर्ता पुगेका थिए ।

  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार १५:३२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया