फेसबुकमार्फत प्रेमपछि विवाह, परिवारले नस्वीकारेपछि हत्या

दोस्रो विवाह गर्नका लागि पहिलो श्रीमतीको हत्या गरेको आरोपमा सिरहा प्रहरीले अर्को एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर–७ बस्ने २३ वर्षीय अमर राउत रहेका छन् ।
 
राउतले परिवारजनलाई जानकारी नदिई अर्को विवाह गर्नका लागि आफ्नो पहिलो श्रीमती २२ वर्षीया पूजा सिंह भन्ने पूजाकुमारी पोदारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । 

गत मंगलबार जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर–७ स्थित कमला नदी किनारको काँसघारीमा पूजाको शव फेला परेको प्रहरीले जनाएको छ । अमरलाई घटनाको अनुसन्धानका क्रममा शुक्रबार पक्राउ गरिएको डिएसपी बुढाथोकीले बताए । 

अमर वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका बेला पूजासँग प्रेममा परेका थिए । फेसबुकमा चिनजान भई एक वर्षदेखि नियमित सम्पर्कमा रहेका अमरले माघ १३ गते नेपाल फर्केपछि माघ २७ गते काठमाडौंको भद्रकाली मन्दिरमा विवाह गरेका थिए । विवाह गरेर दुवैजना काठमाडौं बाफलमा छुट्टै कोठा भाडामा लिई बस्दै आएका थिए । 

विवाह गरेर अमरले आफ्नो घरमा कुराकानी गर्दा घरपरिवारले स्वीकार नगरेपछि घरपरिवारलाई मनाउन घर आएका थिए । तर, घर आएपछि पुनः नफर्केपछि पूजा फागुन १६ गते अमरलाई खोज्दै सिरहाको बस्तीपुर चोकमा पुगेका थिइन् । सिरहा पुगेकी पूजाले श्रीमानलाई आफू आएको जानकारी गराएपछि अमरले आफू बाहिर रहेकाले साँझमा लिन आउने जानकारी गराए । 

अमरले पूजाले आफूलाई खोज्दै आएपछि आफ्नो साथीहरुसँग सल्लाह गरेर हत्याको योजना बनाई बस्तिपुर चोकमा पुगेर उनलाई घर लैजाने बहानामा कमला नदीको किनारमा लगेर साथीहरुसँग मिलेर घाँटी थिची हत्या गरेको अनुसन्धानबाट खुलेको डिएसपी बुढाथोकीले बताए । 



फेसबुकमा प्रेममा परेर विवाह गरेका युवकले घर परिवारलाई मनाउन आएकोमा अमरकै सहमतिमा असन्तुष्ट परिवारले धनुषाकी युवतीसँग अर्को विवाह तय गरेका थिए । तर, पूजा अचानक आएपछि विवाहमा असर पर्ने देखेर अमरले आफ्नो साथीसँग मिलेर पूजाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

यस घटनामा अमर पक्राउ परे पनि घटनामा संलग्न अन्य व्यक्ति फरार रहेका छन् । फरारहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार १८:१२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया