रुसी सेनाले अस्पताल र विद्यालयलाई निशाना बनाए : युक्रेनी सेना

रुसले युक्रेनमा सर्वसाधारणहरूलाई निशाना बनाएको युक्रेन सरकारले बताएको छ । रुसले अस्पताल, नर्सरी र विद्यालयमा हमला गरेको युक्रेनका उपप्रधानमन्त्रीले बताएका छन् । 

युक्रेनी सेनाको कठोर प्रतिकारपछि रुसी सेनाले सर्वसाधारणमाथि ठूलो सैन्य कारबाही गरेको उपप्रधानमन्त्री ओलहा स्टेफानिसाइनाले बताए । 

आइतबार मात्र रुसी सेनाको गोलाबारीमा परेर इरपिनमा एकै परिवारका चारजना मारिएका थिए । उनीहरू युद्धग्रस्त इरपिनबाट सुरक्षित क्षेत्रतर्फ भाग्ने क्रममा मारिएका थिए । 

त्यस्तै, मारिओपोल शहरमा सामूहिक उद्दार कार्य स्थगित भएको छ ।  मारिओपोल सहरमा पाँचौँ दिन पनि पानीको हाहाकार देखिएको छ । त्यहाँ ऊर्जा, खानेकुरा र पानी अभाव देखिएको बताइएको छ ।

रुसको शृंखलाबद्ध गोलाबारीका कारण सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ सार्ने योजना स्थगित भएको जनाइएको छ । तर, रुसले यसको दोष युक्रेनी फौजलाई लगाएको छ ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य केन्द्रहरूमाथि हमला भइरहेका बताएको छ । रुसी सेनाले घनाबस्ती भएको स्थानमा निशाना बनाएको बेलायत सरकारले आरोप लगाएको छ । 



आइतबार राष्ट्रसंघको अनुगमनकर्ताहरूका अनुसार रुसी सेनाले २४ फेब्रुअरीमा युक्रेनमा हमला गरेपछि ३६४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । तर, वास्तविक तथ्यांक सोभन्दा बढी भएको हुन सक्ने अनुमान गरिएको छ । 

राष्ट्रसंघीय मानव अधिकार आयोग युएनएचसीआरका अनुसार रुसी सेनाले हमला गरेपछि मात्र १५ लाख युक्रेनीले देश छोडेका छन् । तर, रुसले सर्वसाधारणलाई निशाना नबनाइएको बताउँदै आएको छ । 



आफ्नो विशेष सैन्य कारबाही युक्रेनी राष्ट्रवादी र नवनाजीविरुद्ध भएको रुसी तर्क छ ।  

  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार ११:३१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया