‘इडियट’ खोज्दा ट्रम्प भेटिएपछि...
गुगलका सिइओले दिए स्पष्टीकरण

वासिंगटन– पछिल्लो समय गुगलमा ‘इडियट’ टाइप गर्दा अमेरिकी राष्ट्रिपति डोनल्ड ट्रम्पको तस्बिर सिरानमै देखिन्छ । ‘इडियट’ खोज्दा ट्रम्पको तस्बिर आएको विषयले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । 

‘इडियट’ खोज्दा पटकपटक ट्रम्पकै तस्बिर देखाएपछि अमेरिकी संसद्को न्यायिक समितिले गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईलाई प्रश्न गरेको थियाे । मंगलबार भएको सभामा समितिका सदस्यले पिचाईमाथि राजनीतिक पक्षपात गरेको आरोप लगाएका थिए । साथै, प्रयोगकर्ताको तथ्यांक दुरुपयोग गरेको र चिनियाँ सरकारसँग समन्वय गरेको आरोप पनि गुगलमाथि लागेको थियो । 

तर, पिचाईले भने गुगलले त्यस्तो केही नगरेको र न्यायिक समितिले गलत बुझेको बताएका छन् । उनले भने, ‘सर्च गर्दा भेटिने कुरालाई गुगलका कर्मचारीले नियन्त्रण गरेका हुँदैनन् ।’ साथै, प्रयोगकर्ताले आफ्नो तथ्यांकलाई गुगलबाट निकाल्न वा आफ्नो गोपनीयता निर्धारण गर्न सक्ने भन्दै उनले चिनियाँ सरकारसँग कुनै पनि किसिमको समन्वय नभएको प्रस्ट्याए । 

खासगरी ‘रिपब्लिकन पार्टी’का सांसदहरुले आफूमाथि लगाएका आरोपको पूर्ण रुपमा खण्डन गर्दै पिचाईले गुगलले आफ्नै सामग्री नराखी अन्य वेबसाइटमा भएका ‘कन्टेन्ट’अनुसारका सामग्री देखाउने बताए । यसैले, यस्तो नतिजा देखिनुमा गुगलको दोष नरहने उनले दाबी गरे । 

गत जुलाईबाट नै गुगलमा ‘इडियट’ शब्द खोज्दा ट्रम्पको तस्बिर आउने गरेको थियो । अहिले पनि गुगलमा अत्यधिक खोजिएको शब्द ‘इडियट’ नै छ । 

‘इडियट’ शब्द र ट्रम्पको तस्बिरको सम्बन्ध यस वर्षको सुरुवातबाटै बनेको देखिन्छ । केही बेलायती आलोचकले ‘ग्रिन डे’को गीत ‘अमेरिकन इडियट’लाई ट्रम्प बेलायत भ्रमणमा रहेका वेला अत्यधिक उचाइमा पुर्याएका थिए । त्यसपछि, ‘रेडिट’ नामक वेबसाइटले ट्रम्पको तस्बिरसँगै इडियट शब्द प्रयोग भएका लेखहरु प्रकाशन गरेको थियो । 



यसअघि पनि अमेरिकी राष्ट्रपतिलाई लिएर यस्तो घटना घटेको देखिन्छ । सन् २००३ मा ‘मिजरेबल फेलर’ खोज्दा जर्ज डब्लु बुसको तस्बिर देखिएको थियो ।



  • प्रकाशित मिति : पुस १, २०७५ आइतबार २०:३५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया