कुष्ठरोग उन्मूलनका लागि मधेस सरकारले विशेष अभियान चलाउने

कुष्ठरोग उन्मूलनका लागि मधेस प्रदेश सरकारले विशेष अभियान सञ्चालन गर्ने भएको छ । जिल्लाभरि रहेका कुष्ठरोगीको संख्या, अवस्थाको विषयमा खोजतालस गरी उपचारको व्यवस्थापन गर्ने प्रदेश सरकारले जनाएको छ । 

मधेस प्रदेश सरकारको प्रदेश स्वास्थ्य निर्देशनालयले त्यसका लागि सोमबार स्थानीय निकायका प्रमुख उपप्रमुख तथा सरोकारवाला निकायसँग अन्तर्गतक्रिया समेत गरेको छ । 

कार्यक्रममा सहभागीले नेपाल सरकारले लिएको लक्ष्य पूरा गर्नका लागि धनुषामा तीन वर्षका लागि सुरु हुन लागेको कुष्ठरोगी पत्ता लगाउने अभियान सफल बनाउनका लागि पालिकाको साथ तथा सक्रियता आवश्यक रहेकोमा जोड दिए । 

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले कुष्ठरोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य पूरा गर्नका लागि धनुषामा सञ्चालन हुने अभियान सफल बनाउन हरेक पालिकाले सहयोग गर्नुपर्ने बताए । 

सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठले कुष्ठरोगी पत्ता लगाउने तथा उनको सम्पर्कमा रहेकालाई औषधि खुवाउने अभियानले कुष्ठरोग निवारणमा महत्त्वपूर्ण योगदान पुग्ने बताए । 

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कुष्ठरोगको निवारणका लागि धनुषा जिल्लामा स्थानीय जनप्रतिनिधिले बढी मिहिनेत गर्न आवश्यक भएको बताए । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीताकुमारी मिश्रले जनकपुरधाम कुष्ठरोगको दृष्टिकोणले उच्च जोखिममा रहेको बताउँदै कुष्ठरोगको निवारण अभियानमा उपमहानगरपालिकाले पूरा साथ दिने बताइन् । 



कार्यक्रम मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजयकुमार झाले स्थानीय सरकारको साथ तथा सहयोगविना कुष्ठरोगको निवारण कठिन भएको बताउँदै यसका लागि जनप्रतिनिधिको सहयोग आवश्यक भएको बताए । 



  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार २१:१५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया