विश्वकप क्रिकेटमा पाकिस्तानमाथि अस्ट्रेलियाको शानदार जित

आइसिसी महिला एकदिवसीय विश्वकपअन्तर्गत आज सम्पन्न खेलमा अस्ट्रेलिया विजयी भएको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा अस्ट्रेलियाले पाकिस्तामाथि ७ विकेटको जित हात पारेको हो । १९१ रनको लक्ष्य उसले ३४.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे ।  

उसका लागि एलिस हेलीले सर्वाधिक ७२ रनको योगदान दिइन् । ७९ बलको सामना गरेकी उनले ७ चौका प्रहार गरिन् । कप्तान मेग लेनिङ्गले ३५ र राचेल हाइनेसले ३४ रन जोड्दा अविजित रहेका एलिस पेरीले २६ तथा बेथ मोनीले २३ रन बनाए ।

पाकिस्तानका लागि ओमाइमा सोहेलले २ तथा नशरा सन्धुले १ विकेट हात पारे । यसअघि न्यूजिल्यान्डको माउन्ड माउंगानुइस्थित बे ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै १९० रन बनाएको थियो । 

पाकिस्तानका लागि कप्तान बिस्माह मारुफले अविजित ७८ रनको योगदान दिइन् । १२२ बलको सामना गरेकी उनले ८ चौका प्रहार गरिन् । आलिया रियाजले १०९ बलमा ४ चौकासहित ५३ रन जोड्दा फातिमा सानाले १४ र ओमाइमा सोहेलले १२ रन बनाए ।

अस्ट्रेलियाका लागि एलना किंगले २ तथा मेगन स्कट, एलिस पेरी, अमान्डा वेलिंग्टन र  निकोला केरीले १/१ विकेट हात पारे । यो जितसँगै अस्ट्रेलियाले २ खेलमा ४ अंक जेड्दा दुवै खेल गुमाएको पाकिस्तान अंकविहीन छ । 

अस्ट्रेलियाले पहिलो खेलमा इंग्ल्यान्डलाई १२ रनले पराजित गर्दा पाकिस्तानले भारतसँग १०७ रनको हार बेहोरेको थियो ।  





  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार १३:०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया