युक्रेनका यी ११ वर्षीय बालक, जो एक्लै १२ सय किलोमिटर यात्रा गरेर स्लोभाकिया पुगे

रुसी आक्रमणपछि लाखौं मानिसले युक्रेन छाडेर छिमेकी देशमा शरण लिएका छन् । अझै पनि पोल्याण्ड, रोमानिया, स्लोभाकियालगायत देशहरूमा युक्रेनी शरणार्थीहरू निरन्तर आउने क्रम जारी छ । यी शरणार्थीमध्ये एक बालकले धेरै मानिसको ध्यान तानेको छ । 

रुसको हमालापछि ११ वर्षीय हसनले युक्रेन छाड्ने निधो गरे । र, उनी जापोरिझियाबाट स्लोभाकियासम्म हिँडे । उनले युक्रेनबाट स्लोभाकियासम्म पुग्न १२ सय किलोमिटर एक्लै यात्रा गरे ।   

उनकी आमाले भने घरमा रहेकी बुढी सासूआमालाई एक्लै छोड्न सकिनन् । र, उनले देश छाडिनन् । तर, उनले आफ्नो छोरालाई राहदानी, दुईवटा सानो झोला र आफन्तको फोन नम्बर लिएर सीमाको लागि रेलमा चढाइन् । जहाँ भन्सार अधिकारीहरूले उनलाई स्लोभाकिया पुग्न मद्दत गरे ।

स्लोभाकियाको सीमामा पुगेपछि हसनलाई त्यहाँ खटिएका स्वयंसेवकहरूले उनलाई खाना र पानी दिए । त्यसपछि सीमाका अधिकारीहरूले स्लोभाकियाको राजधानी ब्राटिस्लाभामा उनका नातेदारलाई सम्पर्क गरे । 

११ वर्षीय बालकको यो साहसको अहिले सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ । स्लोभाकियाको आन्तरिक मन्त्रालयका एक अधिकारीले पनि हसनले आफ्नो मुस्कान, निडरता र दृढ संकल्पले मन जितेको प्रतिक्रिया दिएका छन् ।



गृहमन्त्री रोमन मिकुलेकले सोमबार हसनसँग भेटसमेत गरेका छन् । स्लोभाकियाका अधिकारीहरूले बच्चाको आमा र हजुरआमालाई मद्दत गर्न चन्दाको लागि अपील पनि गरेका छन् । 

स्लोभाकिया प्रहरीले पोष्ट गरेको भिडियोमा बालककी आमाले छोरालाई सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएकी छन् । हसनकी आमा जुलिया पिसेकाले भिडियोमा बनेकी छन्, ‘मेरो शहर नजिकै एउटा पावर प्लान्ट छ, जहाँ रुसीहरूले गोलाबारी गरिरहेका छन् । म मेरी आमालाई छोड्न सक्दिनँ । र, उनी कतै जान सक्ने अवस्थामा छैनन् । त्यसैले मैले मेरो छोरालाई स्लोभाकिया पठाएँ ।’



जुलियाको श्रीमानको मृत्यु भइसकेको छ ।

रुसी आक्रमणपछि २० लाखभन्दा बढी युक्रेनीले छिमेकी मुलुकमा शरण लिएका छन् । जसमध्ये १२ लाखभन्दा बढी मानिस पोल्याण्डमा गएका छन् । त्यस्तै, एक लाखभन्दा बढी युक्रेनीले स्लोभाकियामा शरण लिएका छन् ।  

  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार ८:७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया