माओवादी केन्द्र : निर्वाचनअघि पदाधिकारी चयन सम्भव छ ?
यस्ता छन् प्रचण्डका सकस

आठौं महाधिवेशन सकिएको २ महिना पूरा हुँदा पनि माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन । गत पुस ११ देखि १८ सम्म राजधानीमा भएको महाधिवेशनले २४६ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएको थियो । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको अन्तिम दिन केन्द्रीय सदस्यको नाम पढेर सुनाए । भोलिपल्टै बसेको केन्द्रीय कमिटीको बैठकबाट प्रचण्ड आफैं अध्यक्ष चुनिए । 

त्यसपछि लगत्तै बस्ने भनिएको केन्द्रीय समितिको बैठक विभिन्न बहानामा सर्दै आएको थियो । महाधिवेशनले पदाधिकारी छनोट गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो ।

माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । विधानअनुसार माओवादीले अब एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ ।

आकांक्षी धेरै भएपछि पदाधिकारी चयन नगरी केन्द्रीय सदस्य मात्र चयन गरेर महाधिवेशन सकिएको थियो ।

किन ढिलाइ ? 



धेरै नेता तथा कार्यकर्तालाई दोस्रो केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयनको प्रक्रिया टुंग्याउने आशा थियो, माओवादीभित्र । तर ९७ जना प्रस्ताव गरिएका केन्द्रीय सदस्यमध्ये ५० जनामात्रै अनुमोदन भएपछि झनै असन्तुष्टि चुलिएको छ । 

एकातिर प्रचण्डले पदाधिकारीका आकांक्षी बढ्दा उनीहरूको व्यवस्थापन गर्न सकेको छैनन् । अर्कोतिर, पार्टी संगठन र विभागको टुंगो नलाग्दा माओवादीभित्र झनै अन्यौलको अवस्था बढ्दै गएको हो । 



माओवादी केन्द्रका नेता देव गुरुङ भने प्रक्रियामा प्रवेश गरिसकेको कारणले अब बस्ने बैठकबाट पदाधिकारी टुंगिने बताउँछन् । 

‘केन्द्रीय कमिटी लगभग टुंगिएको भन्नुपर्छ । झण्डै ३ सय जना पुगिसक्नुभएको छ’, गुरुङले फरकधारसँग भने, ‘अब बाँकी पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी पनि टुंगो लाग्छ ।’

त्यस्तै, अर्का पूर्व स्थायी समिति सदस्य गणेश साह पनि असन्तुष्टिका बीच धेरै कामहरु पार्टीबाट सकिएको दाबी गर्छन् । 

उनले भने, ‘पार्टीमा धेरैथरी मान्छेहरु आकांक्षी हुँदा व्यवस्थापनमा सकस हुने रहेछ । केन्द्रीय कमिटीमा असन्तुष्टहरूको सम्बोधन पनि विस्तारै अन्य कामहरूमा परिचालन गरेर हुन्छ जस्तो लाग्छ ।’ 

फरकधारसँगको कुराकानीमा उनले अब निर्वाचन केन्द्रित भएर सिंगो पार्टीलाई नै विजयी बनाउन लाग्नपर्ने बताए । 

प्रचण्ड सकस

माओवादी केन्द्रले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा पनि अध्यक्ष मात्र बनाएको थियो । अरू सबै केन्द्रीय सदस्यको हैसियतमा चुनावमा होमिएका थिए । अहिले पनि स्थानीय तहको निर्वाचन आएको छ । 

प्रचण्डसामु नेताहरूको व्यवस्थापनमा निकै सकस देखिएको छ । एक नेताका अनुसार निर्वाचन अघि पदाधिकारी चयनको विषयले प्राथमिकता नपाउन सक्छ ।

एकल अध्यक्ष प्रणालीमा प्रचण्डकै निर्देशनमा निर्वाचन कार्यक्रमहरू तय हुनसक्ने ती नेताले फरकधारलाई बताए । 

उसो त, प्रचण्ड पारिवारिक मोह केन्द्रीय कमिटीमा देखाएको भन्दै आलोचित पनि भएका थिए । जसकारण ९७ जना पेस भइसकेका नाममा छोरी ज्वाइँ समेतलाई काटेर अन्तिममा ४७ जना प्रचण्डले थाति राखेका थिए । 

उता, बल्लतल्ल जोगाएको सत्तारूढ गठबन्धन जसरी पनि जीवितै राखेर निर्वाचनमा जाने प्रचण्ड कसरत छ । नेताहरूबीच असन्तुष्टि बढ्दै जाँदा पदाधिकारीको टुंगो लगाउन थाल्दा निर्वाचन केन्द्रीत कार्यक्रमहरू पनि प्रभावित बन्नसक्ने प्रचण्डको बुझाइ छ ।

  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार ९:३०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया