बझाङमा मानसिक रोगीको उपचारमा समस्या
मानसिक समस्याले आत्महत्या गर्नेको संख्या वृद्धि

बझाङ जिल्लामा मानसिक रोगीको संख्या दिन प्रतिदिन बढ्दै गएपछि उपचारमा समस्या उत्पन्न भएकाे छ ।

सामान्य खालका मानसिक रोगीहरूलाई सामान्य चेकजाँच र औषधी दिने गरिएको भए पनि जटिल खालका मानसिक रोगीहरूले भने उपचार पाउन सकेका छैनन् ।

केही वर्ष पहिला मानसिक रोग परामर्श केन्द्र नामक गैरसरकारी संस्थाले जिल्ला अस्पतालमा डेस्क स्थापना गरी मानसिक रोगीको उपचार र परामर्श सेवा दिँदै आएको थियाे । तर उक्त संस्था जिल्लाबाट बाहिरिएपछि मानसिक रोगीलाई थप समस्या भएको हाे ।

बझाङमा पछिल्लो तीन वर्षमा ११६ जनामा मानसिक समस्या देखिएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।  यो तथ्याङ्क स्वास्थ्य संस्थाको पहुँचमा पुगेका व्यक्तिहरूको मात्र रहेको छ ।

जिल्लामा यो संख्याभन्दा धेरै मानसिक बिरामी रहेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा २३ जना, २०७६/०७७ मा ३२ जना, २०७७/०७८ मा ३९ जना र यस आर्थिक वर्षको हालसम्म २२ जना स्वास्थ्य कार्यालयको सम्पर्कमा आएको स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य निरीक्षक सुरेश रावलले बताए । 

उनले भने, ‘आगामी आर्थिक वर्षबाट विश्व स्वास्थ्य संगठनको सहयोगमा जिल्लामा मानसिक स्वास्थ्यसम्बन्धी बृहतर कार्यक्रम लागू हुन लागेका कारण मानसिक स्वास्थ्यमा केही सुधारका काम गर्न सकिन्छ कि भन्ने अपेक्षा रहेको छ।’ 



अर्काे गैरसरकारी संस्था प्रगतिशिल युवा समाजले जिल्लाका ४ वटा स्वास्थ्य संस्थामा रहेका मानसिक बिरामीलाई उपचार परामर्श सेवा प्रदान गरिहेको भए पनि यो संस्थाको कार्यक्षेत्र सीमित भएका कारण अन्य गाउँपालिकाका धेरै बिरामी उपचार सेवाको पहुँचबाट बाहिरै रहेको प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए । 

‘जिल्लामा मानिसक स्वास्थ्यसम्बन्धित समस्या भएका धेरै व्यक्ति छन् । केही सामान्य खालका छन् भने केही जटिल खालका । यसमा सम्बन्धित निकायले ध्यान दिएको खण्डमा केही समस्या समाधान हुन सक्छ’, उनले भने।



नेपाल सरकारले सामान्य स्वास्थ्य संस्थामा मानसिक रोगीका लागि औषधी बाहेक अन्य सुविधा उपलब्ध गराउन सकेको छैन । उपचार अभावका कारण आफ्नो गाउँपालिकामा केही बालबालिका र युवाहरूमा समेत मानसिक रोग देखिएको खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क रोकायाले बताए । 

उनले भने ‘स्थानीय सरकारले मात्रै यो काम गर्न सक्दैन । प्रदेश तथा केन्द्र सरकारले सहयोग गर्नुपर्छ । यसको मापदण्ड बनाएर कडाखालका मानसिक रोगीको रिफर गरी विशेषज्ञ डाक्टरद्वारा उपचार गराउन अनुदान दिने मापदण्ड तयार गरेर अगाडि बढ्न आवश्यक रहेको छ ।’
 
मानसिक रोगसम्बन्धी उपचारको व्यवस्था नभएका कारण बझाङका विभिन्न बजारमा गम्भीर खालका मानसिक रोग लागेका बिरामीको संख्या बढ्दै गएको छ। 

सदरमुकाम चैनपुरमा मात्रै दुई वर्षयता अस्वाभाविक व्यवहार प्रदर्शन गर्ने ६ जनाभन्दा बढी मानसिक रोगी बेवारिसे अवस्थामा भेटिएका छन् । साविकको माझीगाउँ गाविसमा मात्र २३ जना मानसिक रोगी रहेको खप्तड छान्ना गाउँपालिका स्वास्थ्य शाखाका सह-संयोजक सुरेन्द्र रोकायाले बताए । 

पछिल्लो समय गाउँपालिकामा मानसिक रूपमा समस्या भएका व्यक्ति बढ्दै गएको उनकाे भनाइ छ ।

मानसिक रोगीको उपचारमा समस्या

मानसिक रोगीको संख्या बढ्दै जाँदा उपचारमा समस्या सिर्जना भएको छ । 

नेपालको संवैधानिक इतिहासमा वर्तमान संविधानमा स्वास्थ्यलाई मानवको मौलिक हकमा समावेस गरेको भए पनि दुर्गमका नागरिकले भने मानसिक रोगको समेत उपचार पाउन नसक्दा बर्सेनि मानसिक रोगीको सख्या दिन प्रतिदिन बढ्दै गइरहेको हाे ।

जिल्लाभरिका स्वास्थ्य संस्थाको बहिरंग सेवा लिन आउने बिरामीमध्ये २० प्रतिशत बिरामी मानसिक रोगी आउने गरेको र जिल्लामा यस सम्बन्धी उपचारको व्यवस्था नहुँदा उनीहरू उपचार सेवाबाट वञ्चित हुँदै आइरहेका छन् ।

जिल्लाका चारवटा स्वास्थ्य संस्था देउलेक प्राथमिक स्वास्थ्य केन्द्र, रायल प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र मेलविसौना स्वास्थ्य चौकीवाट मात्र सामान्य रूपमा समान्य किसिमका मानसिक बिरामीलाई चेकजाँच र औषधी दिने गरेको भए पनि अन्य स्वास्थ्य संस्थामा भने यो सुविधा छैन । 

जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाका अनुसार दैनिक दुई तीनजना मानसिक रोगको समस्या लिएर जिल्ला जिल्ला अस्पतालमा आउने गरेका छन् । 

उनले भने, ‘जिल्ला अस्पताल बझाङमा समान्य डिप्रेशनको मात्र उपचार हुन्छ । जटिल प्रकारको मानसिक बिरामीलाई उपचारमा समस्या छ । मानसिक रोगीका लागि दक्ष जनशक्तिको अभाव भएका कारण यस्तो प्रकारको उपचारमा समस्या हुने गरेको छ ।’

मानसिक समस्याले आत्महत्या

मानसिक समस्या कारण अधिकांश व्यक्तिहरूले आत्महत्याकाे बाटो रोज्ने गरेका छन् । उपचार अभावका कारण पछिल्लो समय जिल्लामा आत्महत्याका घटना पनि दिनप्रतिदिन बढ्दै जान थालेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले समयमै उपचार तथा परामर्श नहुँदा आत्महत्या गर्नेकाे संख्या बढेकाे बताए । 

परिवार तथा कार्यरत कार्यालयमा हुने तनावका कारण मान्छे डिप्रेसनमा जाने र पछि त्यसले व्यक्तिलाई आत्महत्यासम्मको अवस्थामा पुर्‍याउने उनले भनाइ छ।

यो आर्थिक वर्षको श्रावण महिनादेखि हालसम्म बझाङ जिल्लामा १६ जनाले आत्महत्या गरिसकेका छन् । याे संख्यालाई हेर्ने हाे भने जिल्लामा मानसिक समस्या भएका व्यक्तिको संख्या ठूलो रहेको देखिन्छ । 

अन्धविश्वास तथा देवीदेवता लागेकाे भनी धेरैले आफ्नाे समस्या नबताउँदा मानसिक समस्या झन् जटिल बन्दै गएकाे स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जाेशीले बताए । 
 

  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १२:२३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया