सत्तारूढ दलहरूबीच स्थानीय निर्वाचनमा मिलेर जाने सहमति भइसकेकाे छ : नेपाल
फाइल फाेटाे

सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको ‍बताएका छन्।

बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको  बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारूढ दलहरुबीच मिलेर जाने सहमति भएको बताएका हुन् ।

सबै ठाउँमा मिल्न सकिँदैन भने पनि पारस्परिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको निर्वाचनमा परिचालित हुन सिंगो पार्टी पंक्तिलाई उनले आह्वान समेत गरे ।

अध्यक्ष नेपालले अब सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पारे।

उनले एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरूलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष नेपालले भने, ‘हाम्रो सम्पूर्ण ध्यान अब निर्वाचनमा केन्द्रित हुनेछ ।  निर्वाचनको निम्ति नै संगठन, शक्तिको परिचालन, निर्वाचनको निम्ति नै योजनाको निर्माण सिंगो पार्टी पंक्ति उपयुक्त ढंगले परिचालन गरेर अगाडि बढाउनुपर्ने आवश्यकता छ । हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरूसँग पनि कुराकानी गरिरहेका छौं । निर्वाचनमा पनि हामी मिलेर जान्छौं । यसका लागि सिंगो पार्टी पंक्ति अब परिचालित हुनेछ । ७७ वटै जिल्लामा, ७५३ वटै स्थानीय तहहरूमा हाम्रो उपस्थिति हुनुपर्दछ । राष्ट्रियसभाको निर्वाचनमा हामीले केपी ओलीसँग प्रतिस्पर्धा गरेर जित हासिल गरेका थियौं । एक्लै चुनाव जित्ने स्थिति नभएपछि हामीले गठबन्धन गरेर चुनाव जित्यौं । अहिले पनि गठबन्धन कायमै छ ।’



उनले दुईपटक आफ्नो पार्टीले एमालेसँग चुनावी प्रतिस्पर्धा गरेर जित हासिल गरेको उल्लेख गर्दै अब पनि त्यसै गरेर अघि बढने योजना रहेको पनि दोहोर्‍याए।

एक्लै जित्ने अवस्था नभए पनि राष्ट्रियसभा निर्वाचनमा पनि सत्तारूढ गठबन्धनसँग मिलेर केपी ओलीलाई आफ्नो पार्टीले पराजित गरेको उनले स्मरण पनि गराए।



 

 

  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १३:४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया