उस्तै छ महिला र पुरुषबीच हुने ज्यालामा विभेद

दैलेखकाे महावु गाउँपालिका ४ दैलेखकी ४० वर्षीय शर्मिला थापा (नाम परिवर्तन) विगत चार वर्षदेखि सुर्खेतमा बसेर ज्याला मजदुरी गर्दै आइरहेकी छन्।

दैनिकरूपमा उनले प्राप्त गर्ने ज्याला भने ६ सय रुपैयाँ हो । उनका श्रीमान् उनीसँगै मजदुरी गर्छन् तर उनकाे ज्याला भने सात सय रुपैयाँ छ । 

उनलाई ज्यालामा विभेद गरिएको महसुस त हुन्छ तर सुनुवाइ नहुने भएपछि ज्यालामा भएको विभेदबारे आवाज उठाएकी छैनन् । 

‘उस्तै काममा पनि फरक ज्याला हुन्छ । महिला भएकै कारण धेरै काम गरे पनि थोरै ज्याला दिइन्छ’, उनले भनिन् ।  

उनीजस्तै वीरेन्द्रनगर ४ सुर्खेतकी २६ वर्षीया रीता सुनार (नाम परिवर्तन)ले पनि ज्याला मजदुरी गर्न थालेको झण्डै चार वर्ष भयो । उनले पनि ज्यालामा पुरुष र महिलाबीच हुने विभेद खेप्दै आएकी छन् ।

मजदुरी गर्ने महिला र पुरुषमा एक सयदेखि दुई सयसम्म ज्यालामा विभेद गरिने गरेको उनले सुनाइन् । 



उनले भनिन्, ‘काम उस्तै हो । समय पनि उही हो । तर किन ज्यालामा विभेद गरिन्छ होला ?’ 

ज्यालामा विभेद भयो भनौं भने भोलिदेखि ठेकेदारले काममा नआइज भन्ला भनेर पनि आवाज उठाउन नसकेको पनि उनले बताइन् ।



उनीहरूजस्तै देशभरका महिलाहरुले ज्यालामा हुने विभेद भोगेका छन् । त्यसमा पनि कर्णाली प्रदेशमा त झनै यसको प्रभाव बढी छ । 

उसो त केही स्थानीय तहले समेत महिला र पुरुषमा हुने ज्यालामा विभेदलाई न्यूनीकरण गर्नका लागि काम गर्न सुरु गरेका छन् । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले ज्यालामा हुने विभेद विरुद्ध महिलाहरूले आवाज उठाउन सकुन् भन्ने हेतुले चेतनामूलक कार्यक्रम गरेको बताइन् ।  
  
लामो समयदेखि महिला अधिकारका क्षेत्रमा काम गरेकी समिता प्रधानले औपचारिक र अनौपचारिक क्षेत्रमा समेत ज्यालामा विभेद रहेको बताउँछिन् ।

‘महिलाको श्रमलाई मूल्यांकन गरिँदैन । घरेलु कामदार, मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिला र अन्य क्षेत्रमा काम गर्ने महिलाहरूमै विभेद छ’,उनले भनिन्।

मूल्यको मात्रै कुरा नभई, महिला गर्भवती र सुत्केरी हुँदा कामबाटै निकालिनुपर्ने अवस्था भएको उनको भनाइ छ ।

उसो त पछिल्लो समय लैंगिक विभेदका क्षेत्रमा थुप्रै काम र वकालत हुने गरेको छ । तर पनि महिला र पुरुषमा हुने ज्यालामा विभेद अझै हट्न सकेको छैन ।

  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १३:२५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया