स्थानीय तहकाे चुनावी प्रचारमा जुट्न थाले दल, गाउँ पस्न थाले नेताहरू

राजनीतिक दलहरू स्थानीय तहको निर्वाचन केन्द्रित हुन थालेका छन् । निर्वाचन मिति नजिकिएसँगै दलहरूले गोष्ठी, भेला, सम्मेलनलाई तीव्रता दिन थालेका हुन् ।

राष्ट्रिय राजनीतिमा व्यस्त नेताहरू पनि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन थालेका छन् । नेकपा एमालेका सचिव लेखराज भट्ट केही दिनदेखि कैलालीको क्षेत्र नम्बर ४ मा छलफल र भेटघाटमा व्यस्त छन् । उनले छलफलमा स्थानीय नेताहरूबाट सुझाव संकलन र मतदाताको राय बुझिरहेका छन् ।  

एमालेले केही दिनभित्र औपचारिकरूपमा व्यवस्थित तरिकाले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । ‘निर्वाचन केन्द्रित कार्यक्रम सुरु भइसकेका छन्, केहि दिनमा थप व्यवस्थित गरेर जाँदैछौँ,’ एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले भने । 

नेपाली कांग्रेसले देशभर सञ्चालन हुने चुनाव केन्द्रित प्रचार अभियानमा केन्द्रीय सदस्यसमेत खटाइसकेको छ । कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी २९ फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्ने जनाएको छ ।  

जसअनुरूप उसले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा पनि केन्द्रीय सदस्य खटाएको छ । जसमा कांग्रेसले कैलालीमा गोविन्दबहादुर शाह र कञ्चनपुरमा नैनसिंह महरलाई जिम्मेवारी दिइएको छ  । त्यस्तै, कांग्रेसले एक महिनासम्म अभियान सञ्चालन गर्नका लागि डडेल्धुरामा ईश्वरी न्यौपाने, बझाङमा रमेश लेखक, बैतडीमा यज्ञराज जोशी, अछाममा सीताकुमारी राना, बाजुरामा अर्जुनजंगहादुर सिंह, दार्चुलामा अरुण राठौर र डोटीमा किरण गिरीलाई खटाएको छ ।  



उम्मेदवारको टुंगो लागेपछि चुनावी अभियानलाई थप तीव्रता दिने नेताकार्यकर्ताको तयारी छ । ‘घर-घरमा कांग्रेस, जन-जनमा कांग्रेस’ भन्ने मूल नाराका साथ हामीले चुनाव लक्षित अभियानलाई अगाडि बढाउँदैछौँ । वडा, पालिकाहरूमा कार्यक्रम भइरहेका छन्, उम्मेदवारको टुंगो लागेपछि अझ शसक्त भएर अगाडि बढ्ने छौँ,’ कांग्रेस कैलालीका सभापति नारायणदत्त मिश्रले भने ।

नेकपा माओवादी केन्द्रले पनि निर्वाचनलक्षित कार्यक्रम सुरु गरेको छ । माओवादी कैलालीका नेता लालबहादुर सोडारीका अनुसार निर्वाचनको मिति घोषणासँगै टोल भेला र छलफल सुरु भइसकेका छन् । एमालेबाट अलग भएर बनेको नेकपा समाजवादीले पनि निर्वाचन गतिविधिलाई अगाडि बढाएको छ । समाजवादीले पनि गाउँ केन्द्रित कार्यक्रम सुरु गरिसकेको समाजवादी कैलालीका अध्यक्ष दीर्घ सोडारीले जानकारी दिए । 



आसन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने व्यक्तिहरूले पनि निर्वाचन लक्षित क्रियाकलापलाई जोड दिइरहेका छन् । धनगढी महानगरपालिकाको प्रमुखमा स्वतन्त्रणबाट उम्मेदवारी दिने घोषणा गरिसकेका व्यवसायी गोपाल हमालले पनि छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।

‘७४ को निर्वाचनमा मलाई सहयोग गर्नेहरूसँग छलफल गर्दा स्वतन्त्र भएर नै अगाडि बढ्न सुझाव आयो, स्वतन्त्रबाट अगाडि बढे पनि सकेसम्म १९ वडाबाट वडा अध्यक्षहरू उठ्ने छन्,’ उनले भने । हमाल दैनिक मतदाताहरूसँग भेटघाटमा व्यस्त छन् ।

विशेषगरी सुदूरपश्चिमको कैलालीमा स्थानीय तहको निर्वाचनलक्षित गतिविधि बढ्न थालेका छन् । यहाँ प्रादेशिक राजधानी पनि भएकाले नेता–कार्यकर्ताहरू चुनावमा होमिएका हुन् । जिल्लाको १३ वटा स्थानीय तहमा निर्वाचन आयोगले निर्वाचन केन्द्रित कार्यक्रम अगाडि बढाएपछि प्रतिस्पर्धाको लागि राजनीतिक दलहरू पनि आन्तरिक तयारीमा जुटिसकेका छन् । 

पालिका स्तरमा उमेदवारहरूको समेत चर्चा हुन थालेको छ । सरकारले आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।  

  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार ८:१५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया