संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आइपुगेको छ ।
दुर्घटनामा परी १४ जनाले ज्यान गुमाएका छन् भने पाँच जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा मादी-५ का सुवाष गोले र युवा पोख्रेल, मादी-६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन् ।
संखुवासभाको मादी नगरपालिका-६ मा बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो ।
बस मादी-६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएकाे छ । दुर्घटनामा मृत्यु हुने १४ जनामध्ये १० जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औशीडाँडाका ३० वर्षीय विपीन निरौला, मादी-४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी-५ का ४५ वर्षीय दिपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी-६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी-६ कि अञ्जना कटुवाल र मादी-५ की दिशा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
दुर्घटनामा मृत्यु भएका एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुल्न बाँकी रहेको सुवेदीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।