राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले कामलाई तीव्रता दिएको छ । निर्वाचन घोषणा भएको करिब एक महिनाको अवधिमा केही महत्वपूर्ण काम भएको आयोगको दाबी छ ।

निर्वाचन मिति घोषणा भएको एक महिनामा गरिएका काम र आगामी क्रियाकलापबारे चर्चा गर्न आयोगले राजनीतिक दलहरूसँग पनि छलफल गर्ने भएको छ । आयोगले आगामी ३० वैशाखमा निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउने भएको हो । साथै, आयोगले दलहरूबाट रायसुझाव पनि लिने भएको छ । 

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आज बिहान साढे १० बजे छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  

‘निर्वाचन घोषणा भएको करिब एक महिना पूरा भयो, यस अवधिमा आयोगबाट भएका क्रियाकलाप जानकारी गराउने, आयोगसँग दलका अपेक्षाका विषयवस्तुबारेमा छलफल तथा अन्तरक्रिया गरी रायसुझाव लिने उद्देश्य हो,’ उनले भने । 

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुईजना प्रतिनिधि पठाउन अनुरोध गरेको । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा ५७ ले मात्र भाग लिएका थिए । 



उक्त निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको त्यसबेला स्थानीय तहमा प्रतिनिधित्व रहेको थियो । 



  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार ६:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया