अवहेलनामा पूर्वमन्त्रीसहित ८ उच्च अधिकारीलाई जरिवाना

काठमाडौं– पाटन उच्च अदालतले अवहेलना मुद्दामा पूर्वमन्त्रीसहित ८ उच्च अधिकारीमाथि जरिवानाको फैसला गरेको छ । अदालतले पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहित ८ जनालाई जनही ३ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश पोखरेल र शेखरप्रसाद पौडेलको संयुक्त इजालसले असोज १० गते फैसला सुनाएको थियो ।

उक्त फैसलाको आज सार्वजनिक पूर्णपाठमा पोखरेलसहित प्राधिकरणका महानिर्देशक गौतम, प्राधिकरण बोर्ड सदस्यहरू सुरेश आचार्य, शिशिरकुमार ढुंगाना, ईश्वरी पौडेल, सुखचन्द्र झा, सुगतरत्न कंसाकार र ङिमा नोर्बु लामालाई जरिवाना गर्ने उल्लेख छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर कार्गो राख्नका लागि गरिएको ठेक्कामा प्रक्रिया पूरा गरेको कम्पनीलाई नै काम गर्न दिन भनी गरेको आदेशको अवहेलना गरेको भन्दै अदालतले जरिवानाको फैसला गरेको हो । 

प्राधिकरणले प्रक्रिया पूरा गरेका २ कम्पनीसँग ठेक्का सम्झौता गर्नुको सट्टा बोलपत्र नै रद्द गरेको भन्दै स्काइलिफ्ट कन्सोलिडेटर प्रालि र कम्प्लिट कन्ट्राक्ट कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समितिलगायत महानिर्देशकविरुद्ध मुद्दा दायर गरेको थियो । सोही मुद्दामा अदालतले पुनः बोलपत्र प्रक्रिया रोकी पहिलाकै प्रक्रियामार्फत काम गर्नू/गराउनू भनी आदेश दिएको थियो ।

२०७१ साल असार ३१ गते प्राधिकरणले विमानस्थलमा एयर कार्गो राख्नका लागि ग्लोबल टेन्डर गरेको थियो । सर्वोच्च अदालतको आदेशलगत्तै टेन्डर रद्द गरेको प्राधिकरणको दाबी छ ।





  • प्रकाशित मिति : पुस २, २०७५ साेमबार १९:२१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया