निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीको सम्बन्धमा राजनीतिक दलहरुसँग छलफल गरेको छ ।
आयोगले शुक्रबार स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरुसँग आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सम्बन्धमा छलफल गरेको हो ।
छलफलका क्रममा आयोगले निर्वाचन तयारीको सम्बन्धमा गरेका कामहरु राजनीतिक दलका प्रतिनिधिहरुलाई सुनाएको र निर्वाचन आचारसंहिता लगायतको विषयमा छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
राजनीतिक दलहरुले आयोगले जारी गर्ने आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको पनि उनले बताए । त्यसैगरी राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलहरुले पनि पार्टी दर्ताको क्रममा पाएको चुनाव चिन्ह निर्वाचनमा पनि पाउनुपर्ने माग गरेको उनले बताए ।
'दलहरु अहिले जुन राष्ट्रिय मान्यताप्राप्त दल बाहेक निर्वाचन प्रयोजनको लागि निवेदन दिएर आयोगमा दर्ता भएका सबै ७९ दलहरु अब बाँकी भनौँ राष्ट्रिय मान्यताप्राप्त दलबाहेक अन्य ७३ दलहरुले पनि हामीले दल दर्ता गर्दाखेरी पाएको निर्वाचन चिन्ह पाउनुपर्छ । यसमा आयोगले सहयोग गरोस् भन्ने उहाँहरुको धारणा रह्यो’ उनले भने ।
प्रवक्ता पौडेलले राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलहरुलाई पनि उनीहरुकै निर्वाचन चिन्ह दिने सम्बन्धमा निर्वाचन आयोगले सकारात्मक रुपमा लिएको बताए । प्रमुख निर्वाचन आयुक्तले यसको सम्बन्धमा भएका कानुनी जटिलताहरु फुकाउने सम्बन्धमा कानुनी परामर्श गरिरहेको र दलहरुको बीचमा सोही कुरा राखिएको उनले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार केही दलहरुले निर्वाचनमा खर्च गर्न पाउने सिलिङ बढाउनुपर्ने माग गरेका थिए भने केहिले भने खर्च नियन्त्रण गर्नका लागि आयोगले तोकेको सिलिङ ठीक भएकाले खर्चको सिलिङ बढाउनु नहुने धारणा राखेका थिए ।
‘एकदुई वटा दलहरुले यो खर्च अलि सार्न्दभिक छैन कि अलि वैज्ञानिक छैन कि, महँगी, मूल्यवृद्धि, डलरको भाउ, मुद्रास्फीर्ति आदिका आधारमा यसलाई वैज्ञानिक बनाउनुपर्छ भन्ने उहाँहरुको धारणा थियो । त्यो एक हदसम्म मान्य पनि देखिन्छ,' उनले भने, 'तर, अधिकांश दलहरुले खर्च नियन्त्रण नै गर्नुपर्छ । खर्च बढी भयो भने भोलिको दिनमा अनियमितताहरु बढ्न सक्छन् । त्यसो भएको हुनाले यो आयोगले निर्धारण गरेको खर्च ठीक छ भन्ने लाइनमै कुरा आयो ।’
छलफलपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पोखरेलले निर्वाचन आयोगले तोकेभन्दा बढी रकम खर्च भएको अवस्थामा आयोगले अनुगमन गर्नुपर्ने धारणा राखिएको बताए । निर्वाचनलाई कम खर्चमा धाँधलीरहित रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएको बताए ।
जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीले उमेर पुगेका सम्पूर्ण मतदाताको नाम मतदाता नामावलीमा आउनुपर्ने बताए । निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने उनले बताए ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झाले निर्वाचनको दिन सम्ममा थप २ लाख मतदाता नामावली थपिने जनाएको बताए । मतपत्रको रङको सम्बन्धमा स्वस्तिक छाप स्पष्टसँग देखिने गरी विशेषज्ञहरुसँगको परामर्शको आधारमा तय गरिएको आयोगले प्रष्ट पारेको उनले जानकारी दिए ।
बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले चार वटा दलहरुलाई राष्ट्रिय दल र अन्यलाई चाहिँ अराष्ट्रिय भन्न नपाइने बताए । सबै राजनीतिक दलहरुलाई शान्तिपूर्ण रुपमा समान रुपले निर्वाचनमा भाग लिन पाउने व्यवस्था गर्न आयोगसँग आग्रह गरिएको उनले जानकारी दिए । उनले निर्वाचन खर्चको सिलिङ अझै घटाउनुपर्ने धारणा व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।